• Monday 5th of October 2026

महिना नपुगी किन जन्मिन्छन् बच्चा, कसरी जोगाउन सकिन्छ


  • धनकुटा खबर
  • .

महिना नपुगी जन्मिएका शिशुमा देखा पर्ने विभिन्न जटिलता पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारण बन्दै गएको छ।
सन् २०२० को तथ्याङ्कअनुसार कुल एक करोड ३० लाख अर्थात् प्रत्येक १० मध्ये एक बच्चा समय नपुगी जन्मिएका थिए।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ मा विश्वभरिमा पाँच वर्षमुनिका नौ लाख शिशुको मृत्यु ‘प्रीटर्म’ जन्म अर्थात् महिना नपुगी जन्मिँदा उत्पन्न जटिलताका कारण भएको थियो।

महिना नपुगी बच्चा किन जन्मिन्छ?
यूकेको न्याश्नल हेल्थ सर्भिस एनएचएसका अनुसार गर्भाशयमा बच्चा रहने झिल्ली समयअगावै च्यातिनु र गर्भावस्थामा आउने जटिलता प्रीटर्म जन्मका मुख्य कारण हुन्।

त्यसबाहेक अन्य समस्या यी हुन्ः
सङ्क्रमण
गर्भवती महिलाको स्वास्थ्यमा विद्यमान प्री-इक्ल्याम्प्सिया (उच्च रक्तचापका कारण धेरै टाउको दुख्ने, दृष्टिमा समस्या हुने र बान्ता हुने जस्ता लक्षण देखिन्छन्) जस्ता रोग

पाठेघरको मुखमा हुने कमजोरी
एकभन्दा बढी बच्चा जन्मिएका महिलाको गर्भ।
महिना पुग्नुअगाडि हुने जन्मबारे अनुसन्धान गर्ने यूकेको एउटा च्यारिटी ‘टमी’ ले गरेको एक अध्ययनले कतिपय महिलाको योनी र पाठेघरबीचको भाग महिना नपुग्दै खुलेको पाइएको थियो।
उक्त भाग समय नपुगी खुल्दा प्रीटर्म जन्म हुने गर्छ।
महिना नपुग्दै हुने जन्म रोक्नका लागि उपचार उपलब्ध छ।
‘सर्भिकल स्टिच’ भनिने उपचारविधिमा शल्यक्रिया गरी पाठेघरको मुखतिर टाँका लगाइन्छ। तर यो उपचारविधि महँगो छ।

महिना नपुगी जन्मिएका बच्चालाई कसरी हेरचाह गर्ने?
गर्भ रहेको २४ सातापछि जन्मिएका बच्चाहरू पनि बाँच्ने सम्भावना हुन्छ। तर नवजातशिशुलाई जोगाउन अस्पतालमा विशेष हेरचाहसहितको सुविधाआवश्यक हुन्छ।

उनीहरूलाई जीवित राख्नका लागि चाहिने उपकरणहरू यस प्रकार छन्:
इन्क्युबेटर: यो उपकरण नवजातशिशु कक्षमा सबैभन्दा धेरै प्रयोग हुन्छ। यो उपकरणलाई गर्भाशयजस्तै गरी बनाइएको हुन्छ र यसले महिना नपुगी जन्मिएका बच्चाहरूको विकासका लागि सुरक्षित ठाउँको आवश्यकता पूर्ति गर्छ।

भेन्टिलेटर: यसले आफ्नै प्रयासमा सास फेर्न सक्षम भइनसकेका नवजातशिशुमा अक्सिजन र अन्य चापको स्थिर प्रवाह गर्छ।
मोनिटर: यो अत्यावश्यक सङ्केतहरूको निगरानीका लागि प्रयोग गरिन्छ। यसमा मुटुको धड्कन, रक्तचाप र अक्सिजनको मात्रा जस्ता कुरा हेरिन्छ।
इन्ट्रभीनस ड्रिपः यो रक्तनलीबाट बच्चाहरूलाई तरल पदार्थ वा औषधि दिन प्रयोग गरिन्छ।

फीडिङ ट्यूब: यो बच्चाको पेटमा नाक वा मुखको माध्यमबाट खानेकुरा पुर्‍याउन प्रयोग गरिन्छ।
इन्फ्यूजन पम्प: यो आवश्यक पोषण, तरल पदार्थ वा रगत र औषधि दिन प्रयोग गरिन्छ।

नाभीमा राखिने क्याथटर: यो पनि बच्चालाई आवश्यक औषधि र पोषण दिनका लागि प्रयोग गरिन्छ। यसको एउटा उपकरण रक्तचाप मापन र रगतमा निश्चित प्रकारका ग्यासहरूको मापन गर्न पनि प्रयोग हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖