• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

३९ वर्ष कैद गर्नुपर्ने ५ यातायातका पूर्वकर्मचारी ३ दिनमै छुटे


  • धनकुटा खबर
  • .

काठमाण्डौ । राजस्व रकम हिनामिनामा अदालतबाट दोषी ठहर भएर कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन लेखापाल मणिराज दाहालसहित पाँच जना पूर्व कर्मचारी बन्दीप्रत्यक्षीकरणपछि छुटेका छन् । मोरङ प्रहरीले दाहालसहित नयराज नेपाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज नेपाललाई सोमबार साझ पक्राउ गरेको थियो ।

विशेष अदालत काठमाण्डौले २०७९ चैत ८ गते उनीहरुलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेपनि पुनरावेदनका लागि अनुमति दिएको थियो । सो समयावधि कायम रहदै उनीहरु पक्राउ परेकाले बन्दीप्रत्यक्षीकरणको रिटपछि उच्च अदालत विराटनगरको आदेशमा उनीहरु रिहा भएको उच्च अदालत विराटनगरका सुचना अधिकारी निधिराम दाहालले जानकारी दिए ।

उनीहरु पुनरावेदनमा नगए फेरि पनि पक्राउ पर्न सक्ने उनले बताए । मोरङ कारागार विराटनगरका जेलर हरिकृष्ण न्यौपानेले पनि अदालतको आदेशपछि पाँचै जना रिहा भएको बताए । विशेष अदालत काठमाण्डौले तत्कालिन लेखापाल दाहालललाई ७ बर्ष ११महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ जरिवानाको फैसला सुनाएको थियो ।

यस्तै, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना, कटुवालललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना तथा देवराज नेपाललाई ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।उनीहरुबाट जम्मा ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ असुल गर्न बाँकी थियो ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९÷०७० र २०७०÷०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आ.व. २०७१÷०७२, २०७२÷०७३ र २०७३÷०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोशीका चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरु फरार थिए ।-नेपाल टाइम्स

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖