काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दुई जना अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कागज बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेल पक्राउ परेका थिए ।
भिजिट भिसामा विदेश जानेसँग शङ्कास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरीले गिरोहसम्म पुगेका छन् । गिरोहको साथबाट एक हजार ३२ थान भिसासहित कागजात फेला परेको थियो ।
यसअघि प्रहरीले चार जना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको छ ।
