• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

उपसचिवको घरमा ३७ लाख चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । भक्तपुरको दिव्यश्वरी टाउन प्लानिङस्थित उप–सचिवको घर । मध्यपुर थिमि नगरपालिका–२ स्थित उप–सचिवको घरमा कार्तिक २४ मा चोरी भएको हो । सुन, हिराको गहना र मोबाइलसहित ३७ लाख २७ हजार चोरी भएको थियो ।

उप–सचिवको घरमा चोरी गर्नेलाई खोज्न उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुभवी अनुसन्धान अधिकृतहरू खटिए । १ महिनाको अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेको छ । चोरीमा संलग्न आरोपी हुन्, काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका विक्रम नेपाली । २० वर्षका विक्रम चोरेको आरोपमा दोस्रो पटक प्रहरीको हिरासतमा छन् ।

यसअघि उनलाई मोबाइल चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । रडले उप–सचिवको घरको ढोका फुटाएर उनले दिउँसै चोरी गरेका हुन् । दिव्यश्वरीमा चोर्न उनी काभ्रेको तेमालबाट काठमाडौँ आएको अनुसन्धानमा संलग्न अधिकृतले रातोपाटीलाई बताए ।

चोरेपछि उनी घर गए । जङ्गलको बिचमा रहेको उनको घरमा लगेर विक्रमले चोरेको हिरा र सुनका गहना राखेका थिए । उनको घरबाट चोरेको हिरा र सुन बरामद गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जानकारी दिए । दिव्यश्वरीबाट विक्रमले सुन र हिराबाहेक करिब ७० हजार नगद चोरेको पीडितले प्रहरीलाई बताएका छन् ।

चोरेको केही सुन उनले कोटेश्वर र भक्तपुरमा बेचेको थियो । चोरीको सुन किनेको आरोपमा प्रहरीले दुईजना सुन व्यापारीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमि–१ स्थित श्रीयान्स सुन कारखानाका सञ्चालक राजेश लोहनी र कोटेश्वर स्थित दुर्गामाता सुनचाँदी पसल सञ्चालक पदमबहादुर खड्का छन् ।

दिब्यश्वरीमा भएको चोरीबारे अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी डिलबहादुर मल्ल काभ्रेको तेमाल–७ स्थित ठाँटीमा पुगेका थिए । त्यहाँ प्रहरीले विक्रमको घरमा छापा मारेर सुन र हिरा बरामद गरेको छ । उप–सचिवको घरबाट चोरेको दुईवटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ । प्राविधिक अनुसन्धान र सिसिटिभीमा देखिएको अनुहारको आधारमा विक्रमलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

आरोपीलाई प्रहरी वृत्त थिमीले म्याद लिएर अनुसन्धान गरिरहेको छ । चोरीमा संलग्न आरोपीहरूले चोरेको पैसाले ब्राण्डेड कपडा खरिद गर्ने र रात्रि क्लबमा खर्च गर्ने हुनाले रकम बरामद गर्न कठिनाइ हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न अधिकृतहरू भन्छन्– ‘चोरीको मुद्दा लड्दा कानुन व्यवसायीलाई चोरीमा संलग्नहरूले ठुलो रकम खर्च गर्ने गरेका छन् ।’

त्यस्तोमा लाखौं चोर्नेहरू पनि मुद्दा सकिँदा पुरानै आर्थिक हैसियतमा फर्किने गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖