• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

साइकल चोरी भएपछि जसको टुट्यो रोजीरोटीको आधार, सामाजिक सञ्जालमा भावुक पोस्ट


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित खरिबोटमा बस्ने बिरस राई साइकलमा खाना ओसार–पसारको काम गर्छन् । ओखलढुंगाको नानेभञ्ज्याङ गाउँपालिका–३ घर भएर चन्द्रागिरि बस्दै आएका विरसको साइकल चोरी भएको छ । साइकल चोरिएसँगै उनले आफ्नो रोजीरोटीको आधार टुटेको बताएका छन् ।

फेसबुक पेज ‘एनइबी रिजल्ट एण्ड न्युज’ मा पोस्ट गरिएको विरसको साइकल चोरी भएको फोटो सहितको सामग्रीमा धेरैले दुःख व्यक्त गरेका छन् । सो पोस्टमा भनिएको छ, ‘विगत ८ महिनादेखि काठमाडौँमा साइकलमा पठाओ गरेर खाना बोक्ने काम गर्दै आएको थिएँ, मैले यही काम गरेर गाँस, बास र कपासको जोहो गर्दै आएको थिएँ । तर, अब मलाई काठमाडौँमा बस्न धेरै कठिन भएको छ ।’

काठमाडौँमा बस्नका लागि आधार चाहिने तर, आफ्नो आधारका रूपमा रहेको साइकल नै चोरी भएको भन्दै उनले भावुक पोस्ट गरेका हुन् । हराएको सहारा ‘खोजी पाउँ’ भनेर उनले प्रहरी वृत्त थानकोटमा निवेदन पनि दर्ता भएका छन् ।

मंसिर २७ मा साइकल चोरी भएको भनेर विरसले निवेदन दिएको प्रहरी वृत थानकोटका डिएसपी नारायण अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘पीडितको निवेदन दर्ता गरेर खोजी गर्न सादा पोसाकका प्रहरी खटाएको छु ।’

३२ वर्षीय युवकको साइकल चोरी भएसँगै खाना ओसार पसारको काम दिने संस्थाले उनलाई कामबाट निकालेको बताएका छन् । बिरसले सो साइकल २८ हजारमा किनेका हुन् । काम गरेर खरिद गरेको सो साइकल भेट्न सहयोग गरिदिन उनले सबैलाई आग्रह समेत गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्, ‘साइकल बिना पठाओमा खाना डेलिभरी गर्न सम्भव नै हुँदैन ।’ साइकल फेला पार्न सहयोग माग्दै उनले भनेका छन्, ‘तपाईंको कारण मेरो साइकल पाउन पो सक्छु कि !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖