धनगढी । बिहीबार पक्राउ परेका पूर्व सई मदनसिंह धामीमाथि नेपाल प्रहरीका बहालवाला प्रहरी कर्मचारी, कवाडी व्यवसायीदेखि महिला समेतलाई दुःख दिएको आरोप लागेको छ ।
प्रहरी कर्मचारीविरुद्ध लागेर अनावश्यक दुःख दिने, जथाभावी उजुरी हालेर चरित्र हत्या गर्ने, सीमा क्षेत्रमा तस्करीको काम गर्ने, बहालवाला अधिकृत हुँ भन्दै महिला र व्यापारीलाई दुःख दिने जस्ता आरोप उनीमाथि लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार पीडितले उपलब्ध गराएका भिडियो प्रमाण तथा लिखित उजुरीका आधारमा धामीलाई पक्राउ गरिएको हो । हेर्नुहोस् हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका धामीमाथि लागेका आरोपको विवरण जस्ताको त्यस्तै ।
१– धनगढी उप–महानगरपालिका वडा नं २ बस्ने राजन गुप्ताको कवाड पसलबाट डर त्रास तथा धम्की दिई महिनावारी रू. ३०००।– का दरले उठाउँदै गरको भिडियो सहितको तस्विर थान –१।
२–हामीहरु कहिलेकाँही आफ्नो भारतबाट घरायसी सरसामानहरु लिई आउने महिलाहरुलाई निज मदनसिंह धामीले सामान चेकजाँच गर्ने तथा पैसामाग गर्ने गरेको, यदि पैसा दिन मानेन भने जिल्लामा खबर गरेर प्रहरी बोलाउँछु, तिमिहरुलाई ड्रग्स केसमा फसाएर २५ वर्ष जेल हाल्छु भन्ने जस्ता त्रास देखाउने तथा आफू निवृत्त भई सकेको भएता पनि २ वर्ष अझै मेरो जागिर बाँकी छ, भन्ने कुरा गर्दै निज महिलाहरुबाट मलाई यो त्यो सामान लिएर आउनु नभए प्रहरीलाई खबर गरी दिन्छु भनि निजहरुलाई अनावश्क दुख दिने गरेको भनि नाम नखुलाउने सर्तमा निज महिलाहरु यस कार्यालयमा आइ विवरण खुलाई लेखाई दिएका।
३–मिति २०८०÷०९÷१ गते बिहान अं ९ बजेको समयमा भन्सार अगाडी रहेको व्यारेलको डिउटीमा गई भन्सारको डिउटीमा कार्यरत प्रहरी वरिष्ट हवल्दार बिष्णुसिंह कार्की समेतको प्रहरी कर्मचारीहरुलाई ‘तपाईको सई सापले मसंग समन्वय नगरेको भन्ने जस्ता कुराहरु गर्दै हिडिरहेको।
४–जिल्ला बैतडी घर भई हाल धनगढीको मिलनचोक बसी भारतको बनगाँउस्थित पसल व्यवसाय गर्दै आएका वर्ष २७÷२८ को गोरखबहादुर चन्दलाई डर त्रास तथा धम्की दिई निजबाट रकम माग गर्ने गाको।
५–जिल्ला कैलाली धनगढी उपमनपा वडा नं ३ स्थितमा मनोज गल्ला पसलका संचालक एकल महिला समतबाट विभिन्न किसिमका डर त्रास तथा धम्की देखाई रु.८४,०००।– नगद लगेको र हाल उक्त रकम माग गर्दा तलाई नेपालमा बस्नु छ कि छैन भन्ने जस्ता त्रासहरु देखाउने गरेको भिडियो सहितको तस्विर थान–१।
६–डिउटीमा खटिईएका प्रहरी कर्मचारीहरुले कुनै पनि अवैध सामानहरु रोकी चेकजाँच गर्ने क्रममा उक्त स्थानमा तुरुन्त पुगी खटिएका कर्मचारीहरुलाई प्रहरी चेकिङमा बाधा पुर्याउने तथा निम्न दर्जाका कर्मचारीहरुलाई त्रास देखाउने गरेको ।
७. जिल्ला कैलाली धनगढी उपमनपा वडा नं २ स्थितमा निजको संरक्षणमा गौरव गल्ला पसलबाट अवैध रुपमा भारतिय चामल लगायतका सामाग्रीहरु बेचबिखन गर्दै आएको ।
८– जिल्ला कैलाली धउमनपा २ स्थित रहेको बिजय होटलमा महिनावारी दिनु पर्छ नभए प्रहरीलाई छाया हान्न लगाउँछु भनि डर त्रास देखाउँदा निजहरुको कुरा नमिली होटल साहुको टाउकोमा बियरको बोतल प्रहार गरेको ।
९– जिल्ला कैलाली धनगढी उपमनपा वडा नं ४ स्थित कमल जितले संचालन गर्दै आएको दुर्गा चर्तन भण्डारमा २ महिना पहिले निज मदनसिंह धामीले साथमा एकजना पुनर्वास तिरको महिला ल्याई रु.१८,९९०।– बराबरको विभिन्न भाडा बर्तनहरु लगी पैसा माग्दा भोली दिन्छु भनेको र बारम्बार पैसा माग्न जाँदा नदिने डर त्रास देखाउने गरेको र हाल सम्म पैसा नतिरेको भिडियो सहितको तस्विर थान–१।
१०– विभिन्न मितिमा भारतको वनगाँउवाट घरायसी सामानहरु लिएर आउदै गरेको समयमा प्रहरी ब्यारोल पुग्नु पहिले नै निज मदनसिंह धामीले सामान चेकजाँच गर्ने तथा आफु बहालवाल प्रहरी कर्मचारी है भनि डर त्रास देखाई सामान नियन्त्रणमा लिने तथा सामान लगेर अन्यत्रै लगेर बेच्ने गर्ने गरेको भनि स्मूत्र सिंह र निलम भण्डारीले यस कार्यालयमा आई खुलाई लेखाई दिएका।-प्रेसपत्र
