काठमाडाैं । भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ‘सिटी टुर्स एन्ड ट्राभल्स’ का सञ्चालक विनोद कार्की रहेका काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । कार्कीलाई पुस ५ गते बल्खुबाट पक्राउ गरिएकाे हाे ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शंकास्पद कागजातसहित १ हजार ५ सय १३ थान राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा तीमध्ये २ सय ४६ वटाका कागजात नक्कली पाइएकाले कार्कीलाई पक्राउ गरिएकाे हाे ।
ती व्यक्तिहरूको कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएको छ । नक्कली कागजातमा मानिस विदेश पठाउनका लागि एजेन्ट, कन्सल्टेन्सी तथा ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर सेटिङ मिलाई विदेश पठाउने गरेकाे खुल्न आएको कार्यालयले जनाएकाे छ ।
कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएकाे छ ।
