• Monday 5th of October 2026

राम्रो निद्राका लागि एक्लै सुत्नुस्


  • धनकुटा खबर
  • .

विवाहितहरूमध्ये अधिकांशले आफ्नो निद्रा नपुग्ने गुनासो गरिरहेका हुन्छन्। खासगरी पतिपत्नीहरूमध्ये कसैको घुर्ने समस्या हुन्छ, कसैको टेलिभिजन वा रेडियो बजाएर सुत्ने हुन्छन्।

यस्तोमा निद्रा नपुग्नु स्वाभाविक हो। ‘राम्रो निद्राका लागि उसो भए एक्लै सुत्नोस् किनभने राम्रो वैवाहिक सम्बन्धका लागि राम्रो निद्रा अति आवश्यक छ। त्यसका लागि बरु एक्लै सुत्नु परे पनि सुत्नोस् तर निद्रा पुर्‍याउनोस्,’ निद्रा वैज्ञानिक तथा थेरापिस्टहरूले अचेल भन्न थालेका छन्।

निद्रा स्वस्थ शरीर, मस्तिष्क र सम्बन्धका लागि निकै जरुरी हुन्छ। जब तपाईं स्वस्थ हुनुहुन्छ, तपाईंको सम्बन्ध पनि दिगो हुन्छ।

बरु बेग्लै सुत्न जानुअघि एकअर्कामा लडिबुडी गर्नोस्, शारीरिक सम्बन्ध राख्नोस् र लामालामा प्रेमिल गफ गर्नोस्। यति गरेपछि बेग्लाबेग्लै सुत्नुभयो भने पनि तपाईंको सम्बन्धमा समस्या आउने छैन।

राम्रोसँग निद्रा पुर्‍याउने जोडीहरूको वृद्धावस्थामा पनि चिनी रोग नदेखिने, अवसाद नहुने, वैवाहिक सम्बन्ध दिगो हुनेजस्ता फाइदा देखिएका छन्। त्यसो त निद्रा पुर्‍याउने निहुँमा आफ्नो जोडीसँग यसबारे कुरै नगरी धेरैले सिधै म एक्लै सुत्छु भन्छन्।

छलफल नगरी गरिएका कुराले पति वा पत्नी दुवैले आफूलाई परित्यक्त महसुस गर्ने गर्छन्। त्यसैले एक्लै सुत्नु पर्दाका बेला सल्लाह गरेर मात्र सुत्नुपर्ने निद्रा वैज्ञानिकहरूको सुझाव छ। सँगै सुत्दाका अप्ठेराका बारेमा गुनासाको शैलीमा भन्दा पनि समाधानको शैलीमा कुरा गर्नुपर्छ।

बेग्लाबेग्लै सुत्दाका बेला यदि लडिबुडी गर्ने वा प्रेमिल गफ गर्ने वा यौन सम्बन्धका लागि समय छुट्याउने गरिएन भने पनि पति वा पत्नीले एक्लो महसुस गर्नेछन्। यस्तोमा निश्चित दिनका लागि एकान्त रोज्ने वा प्रेमिल सम्बन्धका लागि समय छुट्याउनुपर्ने अमेरिकाको आइओवा स्टेट युनिभर्सिटीकी निद्रा वैज्ञानिक, सर्टिफाइड स्लिप साइन्टिस्ट तथा मनोविज्ञानकी प्राध्यापक लाटन क्रिजनको सुझाव छ।

के आज तपाईंको निद्रा पूरा भयो त?

प्रस्तुतिः अच्युत कोइराला/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖