• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रविले कारबाही नगर्नु भन्दाभन्दै पनि किन मुद्दा चलाइयो ‘खोया’ हान्ने रानाभाटलाई ?


  • धनकुटा खबर
  • .

कास्की— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका ३४ वर्षीय सन्तोष रानाभाटविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई रानाभाटले खोया प्रहार गरेका थिए । तर, लामिछानेले कार्यक्रमबाटै उनलाई छाडिदिन आग्रह गरेका थिए ।

उनले भनेका थिए, ‘पूर्वगृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नु, मगमग बसाउने फूलको थुङ्गा दिएर घर पठाइदिनू ।’

प्रहरीका अनुसार लामिछानेलाई खोया हानेका कारण उनी पक्राउ परेका होइनन् । प्रहरीलाई अपशब्द बोलेपछि प्रहरी आफैँले प्रतिवेदन बनाएर उनीमाथि मुद्दा चलाएको हो ।
यो पनि

लामिछाने मञ्चमा बोलिरहेको अवस्थामा रानाभाट मकैको खोया हानेर भाग्न खोजेका थिए । उनी भाग्न थालेपछि प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । तर, सम्झाउने क्रममा रानाभाटले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज र हातपातको समेत प्रयास गरेको प्रहरीले जनाएको छ ।

ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज तथा हातपात समेत गर्ने प्रयास गरी ड्युटीमा अवरोध पुर्‍याई अभद्र व्यवहार गरेको भन्ने तत्काल खटिएको प्रहरीको प्रतिवेदनको आधारमा पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जनाएका छन् ।

‘अपशब्द बोलेपछि प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइएको हो, खोया हानेको विषयमा होइन,’ उनले भने । रानाभाटमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖