• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाली युवती लगेर दिल्लीको अपार्टमेन्टमा यौन व्यवसाय


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जास्थित गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती टिका कुमारी वलीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले कञ्चनपुरबाट नियन्त्रणमा लिएको हो ।

ब्यूरोका अनुसार भण्डारी दम्पतीले दिल्लीका विभिन्न होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपाली युवतीलाई भारत पुर्‍याई आफ्नो अपार्टमेन्टमा राखेर वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । ब्यूरोका प्रवक्ता एसपी कृष्ण प्रसाद पङ्गेनीका अनुसार भण्डारी दम्पतीले दिल्लीस्थित किशनगढमा अपार्टमेन्ट भाडामा लिएका थिए ।

भण्डारीले भाडाको अपार्टमेन्टमा खाने, बस्ने व्यवस्था समेत मिलाई वेबसाइटमार्फत विज्ञापन गरेर अनलाइनमार्फत वेश्यावृत्तिको र्‍याकेट चलाउँदै आएको दाबी ब्यूरोको छ । पंगेनीले भने,‘ भण्डारी दम्पतीले अनलाइनमार्फत नै वेश्यावृत्ति सञ्चालन गर्न ह्वाट्सएपको ग्रुप बनाएको पाइयो, उक्त ग्रुपमा जोडिएका ग्राहकहरूले पैसा तिरेपछि मात्रै ग्राहले भनेको ठाउँमा युवतीहरू पुर्‍याउने गरेको देखियो ।’ ब्यूरोका अनुसार भण्डारी दम्पतीले पीडित युवतीहरूलाई नयाँ मोबाइल , भारतीय सिम समेत उपलब्ध गराई ह्वाट्सएप र फेसबुकको आईडी बनाएर पासवर्ड आफैले राखेर अनलाइन निगरानी गर्दै आएका थिए ।

‘वेश्यावृत्तिबाट कमाई भएको रकमको २०% मात्र युवतीहरूलाई दिई बाँकी ८०% रकम भण्डारी दम्पती आफैँले लिने गरेको देखियो,’ ब्यूरोले भन्यो,‘ उनीहरूले भारत पुर्‍याएका ९ जना युवतीहरूलाई प्रहरीले गत चैत ७ मै उद्धार गरेको थियो ।’ उनीहरूकै बयानका आधारमा भण्डारी दम्पतीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

गत चैतमा भण्डारी दम्पतीसमेतको विरुद्धमा ६ वटा मुद्दा थिए । उक्त मुद्दामा तीन जना यसअघि नै पक्राउ परि हाल पुर्पक्षका लागि थुनामा छन् । ब्यूरोका अनुसार भण्डारी दम्पतीमाथि अनुसन्धान भइरहेकै बेला उनीहरूले स्थान परिवर्तन गरेर पाँच जना युवतीलाई दिल्ली पुर्‍याएका थिए । ब्यूरोले दिल्ली स्थित नेपाली दूतावास ,भारतीय प्रहरीलगायतको समन्वयमा उनीहरूलाई उद्धार गरिएको जानकारी एसपी पंगेनीले दिए । भण्डारी दम्पतीलाई ब्यूरोले भारतीय प्रहरीको सहयोगमा कञ्चनपुरबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖