• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मित्र मिलन सहकारी ठगी प्रकरण : कुश्माका कार्यकारी अधिकृत पराजुलीसहित ४ जना जेल चलान


  • धनकुटा खबर
  • .

मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका कुश्मा प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई जिल्ला अदालत कास्कीका न्यायधीश ऋषिराज आचार्यको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पराजुलीले मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पुस ११ गते पक्राउ परेका थिए ।

यस अघि प्रहरीले पोखरा वडा नं. २२ घर भई हाल लेकसाईडमा व्यवसाय गरी बस्दै आएका राजु बराललाई अदालतबाट पक्राउ पूर्जी जारी भए लगत्तै पक्राउ गरेको थियो ।

गोपाल खनाललाई मंसिर २८र बुद्धिसागर पौडेल २९ गते प्रहरीले पक्राउ गरेको थियो ।

यस अघि सहकारी कैं बचतकर्ताको रकम फिर्ता गर्न दिइएको चेक नसाटिएपछि बैंकिङ कसुरमा सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य अर्जुन गिरी,कानुन व्यवसायी जनकल्याण पराजुली लगायत ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पोखरा–९, नयाँबजारमा मुख्य कार्यालय रही प्रदेशका विभिन्न ठाउँमा शाखा सञ्चालन गरेको यस सहकारीले बचतकर्ताको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धि देखिएका कैफियतहरु उपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदनमा सो रकम हिनामिना भएको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖