• Thursday 8th of October 2026

दक्षिण अफ्रिकाविरूद्ध भारत दोस्रो दिनमै विजयी


  • धनकुटा खबर
  • .

घरेलु टिम दक्षिण अफ्रिकाविरूद्ध केप टाउनमा भएको दोस्रो टेस्ट भारतले दोस्रो दिनमै आफ्नो पक्षमा परेको छ। ७ विकेटको जितसँगै सिरिजमा १-१ को बराबरी भएको छ।

ब्याटिङ नचलेको टेस्टमा दक्षिण अफ्रिकाले दिएको ७९ रनको झिनो लक्ष्य भारतले ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

ओपनर यसश्वी जैसवाल २८ रन, शुभमन गिल १० रन र विराट कोहली १२ रन जोडेर आउट भए। कप्तान रोहित शर्माले नटआउट १७ रन बनाए।
त्यसअघि दोस्रो दिन ६२-३ बाट ब्याटिङ थालेको दक्षिण अफ्रिका दोस्रो इनिङ्ग्समा १७६ रनमा अलआउट भयो। उसका लागि एडिन मक्रमले १०६ रन जोडे पनि अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा दोस्रो इनिङ्ग्समा भारतका लागि जसप्रित बुमराहले ६ विकेट लिए।

‍२३ विकेट गएको पहिलो दिन

टेस्टको पहिलो दिन २३ विकेट गएको थियो। पहिलो इनिङ्ग्समा भारतले दक्षिण अफ्रिकालाई ५५ रनमै अलआउट गरेको थियो। जवाफी ब्याटिङ थालेको भारत पनि १५३ रनमा अलआउट हुन पुग्यो।

पहिलो दिनमै दोस्रो इनिङ्ग्स ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिकाले दिनको खेल सकिदा ६२ रन जोडेर ३ विकेट गुमाएको थियो। जसका कारण दुवै टिमको गरी कुल २३ विकेट एकै दिन पतन भयो।

भारतले पहिलो इनिङग्समा पछिल्ला ६ विकेट ११ बलको अन्तरमा गुमाउदा कुनै पनि रन जोड्न सकेन। कुनै बेला १५३-४ को स्थितिमा रहेको भारतले ११ बलको अन्तरमा बाँकी ६ विकेट गुमाउँदा कुनै रन जोडेन।
भारतले पहिलो इनिङ्सको निर्णायक अग्रता बनाउन खोजेको अवस्थामा दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३४ औं ओभरमा तीन विकेट लिएर सानदार बलिङ गरे।

केएल राहुल ८ रनमा उनको पहिलो सिकार बने। लगत्तै रविन्द्र जडेजा र जसप्रित बुमराह शून्यमा आउट भए।

४६ रन बनाएका विराट कोहलीलाई अर्को ओभरमा कागिसो रबाडाले दोस्रो स्लिपमा क्याच गराए। मोहमद सिराज रनआउट भए भने प्रसिद्ध कृष्ण रबडाबाटै आउट भएका थिए।

भारतको इनिङ्समा ६ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए। टेस्ट इतिहासमा कुनै पनि टिमले रन नबनाइ ६ विकेट गुमाएको यो पहिलो हो।

बलिङमा दक्षिण अफ्रिकाका एनगिडी, रबाडा र नान्द्रे बर्गरले ३-३ विकेट लिए।

त्यसअघि घरेलु टिम दक्षिण अफ्रिका पहिलो इनिङ्ग्समा ५५ रनमै अलआउट भयो। यो स्कोर भारतविरूद्ध टेस्टमा विपक्षीले बनाएको सबैभन्दा कम हो।

केप टाउनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २३.२ ‍ओभर मात्र ब्याटिङ गर्न सक्यो।

उसका लागि कायल भेरेनले १५ रन र डेभिड बेन्डिघमले १२ रन जोडे भने अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा भारतका मोहमद सिराजले ६ विकेट लिए। उनले ९ ओभरमा ३ मेडन राख्दा १५ रन दिए। जसप्रित बुमराह र मुकेस कुमारले २-२ विकेट लिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖