• Saturday 28th of November 2026

भारतबाट फर्किएकामा कोरोना संक्रमण


  • धनकुटा खबर
  • .

कञ्चनपुर। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ।

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए। “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ-छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौं”, उनले भने, “अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।”

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ। गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन्।

कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना संकलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए। “भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौं”, उनले भने, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन।”

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖