• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कुकुर र बिरालोलाई सार्वजनिक स्थानमा शौच गराए ५ हजार रूपैयाँसम्म जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं । घरपालुवा जनावर कुकुर र बिरालोलाई सार्वजनिक स्थानमा शौच (दिसा–पिसाब) गराउनेलाई काठमाडौं महानगरपालिकाले ५ हजार रूपैयाँसम्म जरिवाना तिराउने भएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराइने छ ।

महानगरले महानगर क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाएको छ । कार्यविधिले घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरुको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने प्रबन्ध गरेको छ ।

महानगरपालिकाले सामुदायिक कुकुर र बिरालाहरुको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था गरेको छ ।

कार्यविधिले महानगरपालिका क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा रूपमा छोड्न रोक लगाएको छ ।

कार्यविधि अनुसार घरपालुवा कुकुर बिरालालाई शौच गराउने व्यवस्था पाल्ने व्यक्ति आफैंले गर्नु पर्नेछ ।

कार्यविधिका विषयमा जानकारी दिँदै कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले भने, ‘जथाभावी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा पिसाब गराएर फोहोरमैला बनाउने वा पालेको कुकुर बिरालो छाडा छोडेका पाइएमा सम्बन्धित धनीलाई महानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖