• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ब्रेकअपले दिने पीडाका फाइदा


  • धनकुटा खबर
  • .

सम्बन्ध बिग्रनु वा दिल तोडिनुले के हामीलाई केही फाइदा पनि हुन सक्छ? तपाईँलाई लाग्न सक्छ कि यो कस्तो प्रश्न हो कहीँ मन दुख्दा पनि कसैलाई राम्रो हुन सक्छ? अथवा त्यसले हुने फाइदाबारे त कसैले ख्यालै नगरेको पनि हुन सक्छ । ‘द ब्रेक–अप मोनोलग्स’ नामक किताबकी लेखक रोजी विल्बीलाई लाग्छ कि सम्बन्ध टुट्नुका पनि थुप्रै फाइदाहरू छन् । रोजी विल्बी पहिला यही नामबाट पडकास्ट चलाउँथिन् । पछि उनले यही शीर्षकमा किताब लेखिन् । यो किताबमा उनले आफ्नो निजी जीवनबारे कुरा गरेकी छन् । यसबाहेक पडकास्टमा आउने अतिथिसँग कुराकानी गर्दा पनि उनले मानिसका सम्बन्धहरूबारे जे बुझिन् त्यसलाई पनि आफ्नो किताबमा ठाउँ दिएकी छन् । उनले यो किताब लेख्नका लागि थेरापिस्ट, समाजशास्त्री र वैज्ञानिकसँग पनि कुराकानी गरेकी छन् । यो किताबका बारेमा उनले बीबीसी रिल्ससँग कुराकानी गरेकी छन् ।

बीबीसी रील्समा रोजी विल्बीले सम्बन्ध तोडिँदा धेरै कुरा सिक्न सकिने बताएकी छन् । बीबीसीसँग आफ्नो अनुभव बाँड्दै उनले ब्रेक–अपलाई कहिल्यै पनि राम्रो रूपमा नलिइएको तर यसले पनि मानिसलाई राम्रो हुन मद्दत गर्ने बताएकी छन् । रोजी विल्बीका अनुसार, ब्रेक–अपले हामीलाई यस विषयमा फेरि विचार गर्न र सम्बन्धमा हामी कस्तो खालको मानिस हुनुपर्छ अनि हामी कस्तो मानिससँग सम्बन्धमा रहनुपर्छ भनेर सोच्न पाउँछौँ । र कतिपय अवस्थामा सम्बन्ध तोडिएर भएको पीडाको अनुभवले नै हामीलाई हाम्रोबारेमा धेरै कुरा थाहा दिन्छ र हामी हाम्रा लागि राम्रो निर्णय लिनसक्ने हुन्छौँ ।

मानसिक स्वास्थ्य र व्यवहार विज्ञानका विशेषज्ञ डा. समिर मल्होत्रा पनि यसमा सहमत छन् कि सम्बन्ध तोडिएका बेला तपाईँको कतिपय विषयमा छर्लङ्ग हुन सकिन्छ । फातिमा फरहीनसँग कुरा गर्दै डा. मल्होत्रा भन्छन्, “धेरैजसो ब्रेक–अपले तपाईँलाई तपाईँको कमजोरीहरूबारे अवगत गराउँछ । त्यसपछि तपाईँले आफूलाई सुधार्नुहुन्छ । यो तपाईँमा भर पर्छ कि तपाईँ ब्रेक–अपलाई कसरी हेर्नुहुन्छ । यदि तपाईँ अर्को मानिसको नै गल्ती खोज्नुहुन्छ भने तपाईँ आफूलाई कहिल्यै पनि सुधार्न खोज्नुहुन्न ।” दिल्लीस्थित मनोवैज्ञानिक तथा विवाह सम्बन्धबारे परामर्श दिने शिवानी मिश्री साधु भन्छिन् – ब्रेक–अप सबैका लागि कठिन हुन्छ र यसबाट बाहिर आउने सबै मानिसको तरिका फरक हुन्छ ।
फातिमा फरहीनसँग कुरा गर्दै शिवानी मिश्री साधु भन्छिन्, “सम्बन्ध तोडिँदा हामीलाई एउटा पाठ पनि मिल्छ ।”

उनी भन्छिन्, “जब ब्रेक–अप हुन्छ तपाईँलाई आफैँबारे जान्ने र आफूलाई थप राम्रो बनाउने मौका पनि मिल्छ । हामीले यो कुरा स्वीकार पनि गर्नुपर्छ कि सम्बन्धमा आफ्नो तर्फबाट के गलत भयो ।” रोजी विल्बी दिल तोडिनुको तुलना नशाको लतसँग तुलना गर्छिन् । उनका अनुसार सम्बन्ध तोडिएपछि मानिस ठ्याक्कै त्यस्तै मानिस हुन्छ जो नशाको लतमा छ र उसलाई त्यो लतमा रोक लगाइएको छ । डा. समीर मल्होत्रा पनि अक्सिटोसिन हर्मोन जब दिमागभित्र बढ्छ तब अर्को मानिस प्रतिको आकर्षण बढ्ने बताउँछन् । कनै पनि किसिमको प्रेममा यस्तो देखिन्छ । उनी भन्छन्, ‘’दिमागभित्र डोपामिन हर्मनको एउटा प्रक्रिया सक्रिय हुन्छ । यसका कारण तपाईँलाई पटकपटक त्यो मानिस भेटिरहन मनलाग्छ । तर यदि उसँग तपाईँ भेट्न पाउनुहुन्न र सम्बन्ध तोडियो भने तपाईँको अवस्था त्यस्तै हुन्छ जस्तो नशा भएका मानिसहरूलाई लागु पदार्थ नमिल्दा हुन्छ ।”

डा. समिर मल्होत्राका अनुसार नशाको बानीमा पनि डोपामिन हर्मोनको एउटा प्रक्रिया सक्रिय हुन्छ । रोजी विल्बी भन्छिन् – सम्बन्धलाई कायम राख्न धेरै मेहनत गर्नुपर्ने हुन्छ । यो एउटा मुस्किल काम हो किनभने सम्बन्धका कारण तपाईँको जिन्दगीमा धेरै उथलपुथल हुन्छ । तपाईँलाई अर्को एउटा मानिसको राम्रो नराम्रो बानीसँग फेरि घुलमिल हुनुपर्छ । बीबीसी रील्ससँग कुरा गर्दै रोजी विल्बी भन्छिन्, “एउटा सम्बन्ध तोडिएपछि अर्को सम्बन्ध बनाउनु अगाडि आफ्नो बारेमा केही सोच्नका लागि समय एकदमै जरुरी छ ।” तर यसको अर्थ कतै पनि यो नलागोस् कि तपाईँ नन वा भिक्षु बन्नुहोस् अथवा यौन चाहनाबाट टाढा रहनुहोस् ।

डा. समिर मल्होत्रा पनि रोजी विल्बीकै कुरालाई अगाडि बढाउँछन् । उनी भन्छन्, “धेरै मानिसहरूलाई एउटा सम्बन्ध तोडिने बित्तिकै अर्को सम्बन्ध बनाउनुपर्छ भन्ने लाग्छ । यो गलत हो । हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध भनेको आफैँसँग हुन्छ । त्यसमा थोरै नियम, थोरै सन्तुलन, थोरै अनुशासन हुनुपर्छ ।”
डा. मल्होत्राका अनुसार केही रचनात्मक सोख वा रुचिमा आफ्नो ऊर्जा खर्च गर्नुपर्छ । आफैँसँगको सम्बन्ध सुधार गर्ने र आफ्नो कमजोरी बुझेर त्यसलाई हटाउने कोसिस गर्नुपर्ने उनी बताउँछन् । उनका अनुसार हामीले कसैलाई स्टक (उसको पछि लाग्ने र उसबारे खोजी गरिरहने काम) गर्नु पनि हुँदैन र हतारिएर कोही मानिससँग सम्बन्धमा बस्नु पनि हुँदैन । उनी भन्छन्, “सम्बन्धको जब कुरा हुन्छ त्यसमा दुई वटा कुरा निकै महत्त्वपूर्ण हुन्छ । एक स्वस्थ रूपमा जोडिनु (हेल्दी कनेक्टेडनेस) र अर्को स्वस्थ रूपमा टाढिनु (हेल्दी डिस्टेन्स) । यही कुरालाई सजिलो गरी बुझ्ने हो भने सम्बन्ध जोगाइ रहनका लागि एक अर्कासँग नजिक पनि रहनुपर्छ र एकअर्काबीच केही दूरी पनि हुनुपर्छ । किनभने सबै मानिसलाई आफ्ना लागि पनि छुट्टै स्पेस चाहिन्छ ।

शिवानी मिश्री साधुका अनुसार अब भारतमा पनि मानिसहरू ब्रेक–अपलाई लिएर फरक धारणा राख्न थालेका छन् ।

जानकारहरूका अनुसार अब मानिसहरूले बुझ्न थालेका छन् कि एउटा विषाक्त सम्बन्धमा रहँदा त्यसले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा खराब असर पर्न थाल्छ । जबकि भारतमा अझै पनि मानिसलाई सम्बन्धबाट बाहिर निस्किन अझै पनि मुस्किल पक्कै छ ।

ब्रेक–अपपछिको अवस्थाबारे बोल्दै पूजा शिवम् जेटली भन्छिन् कि तपाईँ फरक फरक मानिसहरूसँग भेट्न सक्नुहुन्छ, स्वस्थ तरिकाले कुराकानी सुरु गर्न सक्नुहुन्छ, जिन्दगीलाई नियाँ सिराबाट सुरु गर्न सक्नुहुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नाबारेमा थाहा हुन थाल्छ । आफ्नो कुरा बिट मार्दै शिवानी मिश्री साधु भन्छिन्, “ब्रेक–अप पछि तपाईँ खुसी हुन सक्नुहुन्छ ।” (बीबीसीबाट)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖