• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस २६ । रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा आज बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भीड लागेको छ ।

त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । उत्तरगया क्षेत्रमा टाढा–टाढा देखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरूको बिहानै देखि भीड लागेको हो ।

स्वर्गीय बाबु(आमा तथा आफन्तको नाममा भक्तजनहरूले अहिले नदी किनारमा श्राद्ध गरिरहेका छन् । पितृको नाममा श्राद्ध गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ । भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्छन् ।

यस स्थानमा आएर परलोक भएका आफ्ना बाबु(आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ ।

पितृको नाममा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । यस क्षेत्र आएर श्राद्ध गरेमा पितृहरू उद्धार भई स्वर्ग जाने विश्वास रहेको छ ।

सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि महादेवले कालकुट नामक विष पिएर त्यसको डाहा मार्न यही ठाउँमा बेतको लौरोले खोस्री बेत्रगंगा (तप्त नदी) उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाइँकुण्ड गएको धार्मिक किंवदन्ती रहेको छ ।

यहाँ भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरू श्राद्ध गर्न यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖