अनुयायीलाई यौन हिंसा गरेको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बमजनले कारागारमा योग ध्यान सुरु गरेका छन् । सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बमजनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन् । उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका हुन् ।
उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्ने गरेका छन् । त्यस्तै उनी अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन् । कारागारमा उनी शान्त रहेको कारागारले जनाएको छ । बमजनले अरुलाई खाना खाएको भन्सा र भाडाँमा समेत आफ्नो लागि खाना नबनाउन भनेका छन् । बेसार, लसुन, प्याज हालेको दाल, तरकारी नखाने बताएका बमजनलाई जोगीलाई बनाएको खाना दिने गरेको छ । कारागारमा बमजनसँगै अरू ५–७ जना जोगी कैदी पनि छन् ।
बोम्जनले अनुयायी बेत्तपा पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बमजनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।
तर, त्यसयता उनको सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ ।
उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिउको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।
सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो । त्यसबेला बोम्जन त्यहाँ रहेको सूचना पाएपछि काठमाडौंस्थित सीआईबीबाट एसपी बेलबहादुर पाण्डे नेतृत्वको टोली सिन्धुली पुगेको थियो । तर, प्रहरी खाली हात फर्किनु परेको थियो ।
बमजनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए।
