• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् प्रहरी जवान परियार, जसले ३५ फिट गहिरो इनारमा पसेर नुतनलाई निकाले…


  • धनकुटा खबर
  • .

ललितपुर । माघे संक्रान्तिको बिहान पौने १० बजेतिर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. २ इमाडोल कृष्णमन्दिर नजिकै दोलखाकी नूतन प्रधान डेरामै लुगा धोइरहेकी थिइन् । सोही क्रममा इनारको माथि चढेर डोरीमा लुगा सुकाउँदै गर्दा एक्कासी ढक्कन फुटेर नुतन इनारमा खसिन् ।

तत्कालै उनका परिवारले थाहा पाएपछि प्रहरीलाई खबर पुग्यो । त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै स्थानीयहरु जुटे । माघको चिसो, करिब ३५ फिट गहिरो इनारमा खसेकी नूतन ठोक्किँदै झरेकोले सामान्य चोटपटक लागेको थियो ।

प्रहरी आइसकेपछि नुतनलाई डोरी दिएर बाहिर निकाल्ने प्रयास गरे पनि असफल भएपछि इनारभित्रै गएर निकाल्नुपर्ने निष्कर्षमा उद्धारटोली पुग्यो । उद्धारका लागि लगातार रुपमा जुटेका उद्धारकर्मीमध्येबाट नेपाल प्रहरीका जवान जी. परियार इनारमा पस्ने भए । उनले डोरी कसे, अनि पसे इनारमा ।

करिब ३५ फिट तलको पुगेर अर्को व्यक्तिलाई उद्धार गर्नु पक्कै पनि सजिलो काम होइन, तर कर्तव्यबोध गर्दै परियारले ज्यानको बाजी नै लगाएर इनारभित्र पसेर सकुशल नुतनलाई बाहिर निकाल्नका लागि अहम् भूमिका खेले ।

नूतनलाई बाहिर निकाल्न उद्धारकर्मीलाई करिब साढे २ घन्टा लागेको थियो । ढाडमा र खुट्टामा सामान्य चोटपटक लागेकी नुतनलाई त्यसपछि परिक्षणका लागि अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य छ ।

राजधानीका अधिकांश घरमा इनार रहेको छ । मानिसहरुले इनारमा चढ्दा ख्याल गर्नुपर्ने देखिएको छ । करिब एक साताअघि मात्रै जावलाखेलको कुसुन्तीस्थित एक घरमा रुख काट्दै गर्दा लडेर इनारमा परेका पुरुषको ललितपुर नगर प्रहरीले उद्धार गरेको थियो ।-नवनेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖