सिन्धुली– नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ‘अप्रेसन लिमा–३’ मा सिन्धुलीका दुईजनासहित नौँजना पक्राउ परेका छन् । काठमाडौँमा नक्कली मदिरा उत्पादन गरि बेचबिखन गरेको सूचना पाएपछि प्रहरीले ‘अप्रेसन लिमा–३’ नाम दिएर अनुसन्धान गरिरहेको थियो । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा डेढ तलाको घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपि) मिलन केसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ का २८ वर्षिया गौरव तामाङ र कमलामाई नगरपालिका वडा नम्बर ७ का ४० वर्षिया लेखविक्रम थापा छन् । तामाङ काठमाडौँको मुलपानीमा बस्दै आएका थिए भने थापा कोटेश्वरमा बस्ने गरेको केसीले बताउनुभयो । त्यस्तै, रामेछापका २८ वर्षिय मनोज खत्री, ३६ वर्षिया विनोदकुमार कार्की, २० वर्षिया मनिष खत्री र २३ वर्षिया महेश खत्री, सिन्धुपाल्चोकका २७ वर्षिय मोहन खड्का र १८ वर्षिया रोशन कार्की र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले नक्कली मदिराहरु बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरुलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तल लगायत गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याकसहित विदेश ब्राण्डका मदिरा पनि बरामद गरेको थियो । पक्राउ नौँजनलाई यसअघि पनि कालो बजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तरगत कार्वाही गरिएको प्रवक्ता प्रहरी उपरीक्षक (एसपि) केसीले जानकारी दिनुभयो ।
