• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मेयर साम्पाङले वीपीको उपकुलपति कार्यकक्षमा लगाएको ताला खुल्यो, आन्दोलनकारीले रेक्टर र रजिष्ट्रारलाई घर जान दिए


  • धनकुटा खबर
  • .

धरान:मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलिदिएका छन् ।

उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भन्ने अन्तरिम आदेशसमेत जारी भएपछि शुक्रबार दिउँसो मेयर साम्पाङले उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मेयर साम्पाङले माघ १ गते आफै गएर तालाबन्दी गरेका थिए । शुक्रबार भने उनका स्वकीय सचिव सुर्दशन लिम्बु गएर उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोलिदिएका हुन् ।

ताला खोल्नअघि प्रतिष्ठानमा आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको नेतृत्वले मेयर साम्पाङसँग उपमहानगरपालिकामा भेट गरेको थियो । उक्त भेटमा कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले कार्यकारिणी समिति (का.स.) को बैठक काठमाण्डौंमा बोलाएकोले उक्त बैठक धरानमै बस्ने वातावरण तयार गर्न पनि तालाबन्दी खोलिदिन आन्दोलनरत पक्षले आग्रह गरेको थियो ।

‘हाम्रो माग का.स.बैठक धरानमै हुनुुपर्छ भन्ने छ, त्यसको लागि सकरात्मक वातावरण बनाउन पनि मेयर साबलाई अनुरोध गरेका थियौं,’ कर्मचारी कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले भने,‘का.स.यही बस्ने वातावरण बनोस्, ताला खोलिदिन्छु भन्नुभएको थियो, र खोलिपनि दिनुभयो ।’

आन्दोलनकारी रेक्टर, रजिष्ट्रारलाई घेराउबाट पछि हटे

आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले रेक्टर प्रा.डा.सञ्जिव शर्मा र रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलालाई शुक्रबार दिनभर कार्यालयमा घेराउ गरे ।

कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले कार्यकारिणी समिति (का.स.) बैठक काठमाण्डौंस्थित सम्पर्क कार्यालयमा बस्ने गरि बोलाएपछि आन्दोलनरत पक्षले भने प्रतिष्ठानको मुख्य कार्यालयमै बस्नुपर्ने माग गर्दै रेक्टर र रजिष्ट्रारलाई घेराउ गरेका थिए ।

आन्दोलनकारीहरुको घेराउकै कारण शुक्रबार दिउँसो ४ बजेको लागि बोलाइएको बैठकमा रेक्टर र रजिष्ट्रार काठमाण्डौं जान पाएनन्, बैठक पनि भएन । कायममुकायम उपकुलपतिले पुनः बैठक शनिबारको लागि बोलाएका छन् । जसले गर्दा आन्दोलनकारीहरुले शुक्रबार रातभर रेक्टर र रजिष्ट्रारलाई कार्यकक्षबाट निस्कन नदिने गरि घेराउ गर्न चाहेका थिए । उनीहरुले रेक्टर डा.शर्मालाई पनि रजिष्ट्रारकै कार्यकक्षमा राखेका थिए । घर जान नदिई रेक्टर र रजिष्ट्रारलाई कोठामा थुनेको बिषयमा प्रशासनबाट गम्भीर चासो व्यक्त भएपछि भने आन्दोलनरत पक्षले घर जान दिने भए ।

उमेरको हिसाबले रजिष्ट्रार ज्येष्ठ नागरिक भएकोले पनि मानवीय पक्षलाई आन्दोलनरत पक्षले ध्यान दिएर घर जान दिएको अध्यक्ष खानले बताए । ‘सहायक सिडिओले पनि फोन गर्नुभयो । मानव अधिकारको उल्लंघन हुन्छ भनेर चासो व्यक्त भएपछि मानवीयताको हिसाबले पनि हामीले घर जान दियौं,’ शिक्षक कल्याण समाजका अध्यक्ष डा.खानले भने ।
-क्लिक धरान

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖