• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अन्तरजातीय विवाह गरेकै कारण मारिएका अजित मिजारको शव आठ वर्षदेखि अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ माघ । दलितका लागि दलित अभियानका अभियन्ताहरुले सात वर्षअघि जातीय विभेदका कारण मारिएका अजित मिजार र उनका परिवारले न्याय नपाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । काभ्रेको पाँचखालका मिजारको अन्तरजातीय विवाहकै कारण हत्या भएको उनीहरुको दाबी छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले रुकुमका नवराज विकको हत्यामा संलग्नलाई जेल हालेर उनका परिवारलाई न्यायको प्रत्याभूति गराउन सफल भएपछि अब आफूहरुको ध्यान अजित मिजारको परिवारलाई न्याय दिलाउनेतर्फ मोडिएको बताए ।

२०७३ असार २५ गते अजित र पाँचखालकै ज्याम्दीकी कल्पना पराजुलीबीच प्रेम विवाह भएको र त्यसको २ दिनपछि असार २९ गते धादिङमा पुर्याएर अजितको केटी पक्षका मानिसहरुले हत्या गरेको उनीहरुले बताए । लगभग ८ वर्षदेखि पीडित परिवार न्यायका लागि छटपटाइरहेको र अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शव गृहमा दाहसंस्कार कुरेर बसेको उनीहरुले बताए ।

अजित र कल्पनाबीचको प्रेम सम्बन्ध, प्रेम विवाह, परिवारको दबाबबाट अलग्याइएको घटना र त्यससँग जोडिएका कयौँ प्रमाणहरुले अजितको हत्या भएको छर्लंगै हुँदाहुँदै जिल्ला अदालत धादिङले अजितले आत्महत्या गरेको भन्दै प्रतिवादीलाई सफाइ दिएको र उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको भन्दै उनीहरुले आपत्ति जनाए । अजितका बुबा हरिभक्तले सर्वोच्चमा मुद्दा दोहोर्याइ हेरिपाउँ भन्ने निवेदन दिएपनि न्याय पाउने आश कमजोर बन्दै गएको उनीहरुको भनाइ छ ।

दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनुवारले जातीय विभेदलाई राज्यको कानुनले नै नै दण्डनीय घोषणा गरेको भएपनि अजितका परिवार राज्यबाट नै पीडित हुनुपरेको बताए । अभियन्ता सुनुवारले उक्त घटनाको निश्पक्ष रुपमा सुरुदेखिनै छानविन हुनुपर्ने बताए ।

‘मान्छे उठाएर लगेर हत्या गरी फाँकेको मुद्दालाई आठ वर्षदेखि लास कुरेर बस्ने भन्ने हुन्छ ? यो हुँदैन अब । काठमाडौंमा एउटा आन्दोलनको प्रारम्भ भएको छ । काठमाडौंमा एउटा झिल्कोको प्रारम्भ भएको छ ।’ उनले भने, ‘हिजो नवराजको मुद्दाको फैसला हुँदै गर्दा पनि रुकुम जिल्ला अदालतको गेटमा ओछ्यान लगाएर सुत्दै गर्दा मैले यही उद्घोष गरेको थिएँ । यहाँबाट की न्याय उठ्छ । किभने हाम्रो लास उठ्छ । नबराज ६ भयो, हामी मर्दा ७ हुन्छ । केही फरक पर्दैन । अजितसँगै त्यो मुर्दाघरमा पनि सुत्न तयार छु ।’

अजितको मुद्दामा सर्वोच्च अदालतले आगामी फागुनको ८ गते पेशी तोकेको उनले बताए । आफूहरुलाई न्यायाधीशलाई श्रद्धाले शिर झुकाएर सलाम ठोक्ने रहर रहेको भन्दै उनले न्यायका भोकाहरुलाई ढुंगा ठोक्न बाध्य नगराउन आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖