दाङ । दाङमा एक व्यक्तिले रड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले गएराति रक्सीले मातेर श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएको छ ।
मदिराले मातेका चौधरीले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चौधरीले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारेका थिए । तर, सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि चौधरीले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते छिमेकी एक युवा र एक महिला भने उपचारपछि राति नै घर फर्किसकेका छन् । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
