काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र तराई मधेसमा बाक्लो हुस्सु कुहिरो लागेपछि चिसो बढेको हो ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव १ डिग्री रहेको थियो । यसअघि गएको पुस २० गते शुक्रवार काठमाण्डौमा यो वर्षकै सबैभन्दा कम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको थियो । काठमाण्डौ उपत्यका बाहिर पनि चिसो बढेको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा झन् बढी चिसो छ । दोलखा जिरीको न्यूनतम तापक्रम १ डिग्री, जुुम्लाको माइनस ५ दशमलव ६ र मुस्ताङ जोमसोमको तापक्रम माइनस ५ दशमलव शून्य डिग्रीसम्म पुुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज तराई मधेसमा हिजोअस्तिको तुलनामा बाक्लो हुस्सु कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । बाक्लो हुस्सु कुहिरो लागेको भए पनि शीतलहर घोषणाका लागि मापदण्ड नपुगेको र मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहरको घोषणा गरिने उहाँले बताउनु भयो ।
अधिकतम तापक्रम औसतमा पाँच डिग्री सेल्सियस वा त्योभन्दा कम भएमा, लगातार केही दिनसम्म उच्चतम र न्यूनतम तापक्रम बीचको दूरी पाँच डिग्री वा त्योभन्दा कम भएमा, भिजिबिलिटी वा पारदर्शीता कम भएमा, साँझबिहान शीत झरेमा लगायतका सूचकका आधारमा शीतलहर घोषणा गरिने उहाँले बताउनु भयो । लामो समयदेखि बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर भएको छ ।
