धनगढी । आफ्नै घरको छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका–४ बसपाकस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोश अग्रवालको मृत्यु पारिवारीक विवादका कारण भएको खुलेको छ ।
सन्तोशको छोरासँग अंशबण्डा सम्बन्धी विवाद रहेको थियो । बिहान बसपार्कमा रहेको सन्दीप स्टोरमा बिल काटिरहेका बेला कान्छा छोरा–बुहारी घरमा आएका थिए । प्रहरी स्रोतकाअनुसार त्यही क्रममा छोरासँग उनको पनि विवाद भएको थियो ।
‘उहाँ पसलमा सामानको बिल काटिरहेका बेला कान्छो छोरा आएपछि भागबण्डाको विषयमा विवाद भएको रहेछ । त्यही क्रममा उहाँ(सन्तोश) तिम्रो मम्मी(आमा)लाई बोलाएर ल्याउँछु भन्दै माथि जानुभएको भन्ने बुझिएको छ,’ प्रहरी स्रोतले प्रेसपत्रसँग भन्यो, ‘तर एकैछिनमा उहाँ एकाएक पाँच तले घरको छतबाट हाम फालेर भुँईमा बजारिनुभएछ ।’
Navjiwan hospital adv
उनी घरको छतको माथिल्लो तलमा चढेका बेला छिमेकीहरुले देखेपछि त्यस्तो नगर्न आग्रह समेत गरेका थिए तर उनले कसैको कुरा नसुनेर हाम फालेको सार्वजनिक भएको भिडियोमा देखिन्छ ।
त्यहाँ भएका स्थानीयले नै उनको उद्दार गरेर नवजीवन अस्पताल पुगाएपनि उपचारका क्रममा उनको मृत्यु भएको थियो । मृतक अग्रवालका आफन्तकाअनुसार पनि सन्तोशसँग र उनका कान्छा छोरा–बुहारीले भागबण्डाका विषयमा विवाद गर्दै आएका थिए । बुधबार पनि उनीहरुको विवाद भइरहेको थियो ।
सन्तोशले आफ्ना कान्छा छोराको केही महिना अघि मात्रै विवाह गरेका बुझिएको छ भने उनका जेठो छोरा बुहारी काठमाण्डौं बस्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले पनि पारिवारीक विवादका कारण घटना भएको बुझिएको बताउँदै त्यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।-प्रेसपत्र
