• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

निलम्बनमा परेका वरिष्ठ हवल्दार सोनेलाललाई बर्खास्त नै गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ- नेपाल प्रहरीका एक हवल्दारलाई सेवाबाटै बर्खास्त गर्ने तयारी गरिएको छ।

सर्लाही बरथवा नगरपालिका-५ मा गोली लागेर युवकको ज्यान गएको घटनामा वरिष्ठ हवल्दार सोनेलाल यादवलाई प्रहरी प्रधान कार्यालय नक्सालले बर्खास्त गर्न लागेको हो। गत पुस २० गते अस्पताल स्थापनाको विषयलाई लिएर भएको झडपमा बरथपा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो।

उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति बनाएको थियो। छानबिन समितिले अनावश्यक रुपमा बल प्रयोग गरी गोली चलाएको निष्कर्ष निकाल्दै वरिष्ठ हवल्दार यादवलाई बर्खास्त गर्न सुझाव पनि दिएको छ।

यादव यसअघि नै निलम्बनमा परिसकेका छन्। छानबिन समितिले घटना भएको ठाउँमा गोली चलाउनुपर्ने अवस्था नहुँदा नहुँदै यादवले गोली चलाएको निष्कर्ष पनि निकालेको छ।

हवल्दार साहले भने आफ्नो हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी यसअघि नै गरेका छन्। यादवलाई कारबाही गरेको व्यहोराको पत्र प्रहरी प्रधान कार्यालय नक्सालले केही दिनमै जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पठाउनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖