• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

स्वस्थानी व्रत तथा शालीनदी मेला भोलिदेखि सुरु हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको साँखुमा यो वर्ष माघ ११ देखि फागुन १२ गते १ महिनासम्म चल्ने श्री स्वस्थानी व्रत तथा शालीनदी मेलाको व्यवस्थापन गर्न शंखरापुर नगरपालिकाले १५ वटा निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले मेलामा क्षेत्रमा रहने खाजा पसलहरुलाई मूल्यसूची अनिवार्य रुपमा राख्न लगाउने, काठमाडौँका विभिन्न स्थानबाट शालीनदी पुग्ने सार्वजनिक बसमा देखिने गरी भाडादरको सूचना टाँस गर्न लगाउने, हरेक दिन सरसफाइको व्यवस्थापन गर्ने, मेला स्थलमा मदिराजन्य र मासुजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने, शालिनदी चोकस्थित विजा पुखुमा निःशुल्क सार्वजनिक शौचालयको व्यवस्था गर्ने, कुनै गुनासो भएमा त्यसको सुनुवाइका लागि ‘फोकल पर्सन’ तोक्ने लगायतका विभिन्न निर्णय गरेको छ ।

एक महिनासम्म चल्ने सो मेलाको व्यवस्थापन सम्बन्धी सरोकारवाला सम्पूर्ण निकायद्वारा एकीकृत सेवा व्यवस्थापन गरी अन्तरनिकाय सहकार्य तथा समन्वय गरी सघन अनुगमनको लागि नगरप्रमुख रमेश नापितको संयोजकत्वमा शालीनदी मेला व्यवस्थापन मूल अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।

सो समितिका संयोजक एवं नगरप्रमुख नापितले भने,‘एक महिनासम्म चल्ने श्री स्वस्थानी माधवनारायण व्रत तथा सालीनदी मेला व्यवस्थापनको तयारी पूरा गरेका छौँ । मेलामा आउने श्रद्धालु भक्तजनको सहज रुपमा पूजा गर्न तथा मेला भर्नका लागि शान्ति सुरक्षा, सरसफाइ, बजार व्यवस्थापन तथा अनुगमन लगायतका कामलाई उच्च प्राथमिकतामा राखेका छौँ । कुनैपनि भक्तजनलाई मेलामा असहज अवस्था नआओस् भनेर गम्भीर ढंगले नगरपालिका लागि परेको छ ।

कतै केही गुनासो भएमा गुनासो सुन्ने पदाधिकारीहरुको फोन नम्बर मेला स्थलमा ठाउँ ठाउँमा राख्दैछौँ र त्यस्ता गुनासोलाई तत्काल सुनुवाइ गर्ने प्रबन्ध गरेका छौँ । मेलालाई व्यवस्थित गर्नका लागि विभिन्न सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्दैछौँ ।’

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौँको शंखरापुर नगरपालिकामा रहेको साँखुमा ठूलो मेला लाग्दै आएको छ । सो मेलामा देश विदेशबाट लाखौँ भक्तजन पुग्ने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖