• Tuesday 6th of October 2026

केकीको समर्थनमा शिव परियार : ‘साहित्यकारलाई विद्वान भनेकै हामी हो भन्ने भ्रम छ’


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘द पोएट आइडल’को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएको खबरपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । साहित्य क्षेत्रका केहीले यसलाई खिसिट्युरी गरेका छन् भने धेरैजना उनको समर्थनमा उभिएका छन् ।

गायक शिव परियार केकीको समर्थनमा खुलेरै प्रस्तुत भएका छन् । उनले ‘नेपाली साहित्यकारमाझ विद्वान भनेकै हामी मात्र हो भन्ने भ्रम रहेको’ टिप्पणी गरेका छन् ।

उनी लेख्छन्, ‘पोएट आइडलमा केकी अधिकारी निर्णायक हुँदा साहित्य लेखन क्षेत्रमा भएको विरोधका बारेमा । नेपालमा लेख्नेहरुको मुख्य समस्या भनेकै ‘यो धर्तीमा ब्रह्माण्ड जान्ने हामी मात्रै हो । म वा हामी लेख्नेलाई बाहेक अरुलाई यो ब्रह्माण्डका केही कुरा थाहा छैन, हुँदैन । विद्वान भनेकै हामी मात्रै हो भन्ने ठूलो भ्रम छ । विगतदेखि वर्तमानसम्म यो नेपाली सहित्य क्षेत्रको ठूलो अनि मुख्य समस्या थियो, हो ।’

केही मिडियाकर्मीले पनि केकीलाई जजमा नियुक्त गर्ने खबरको स्वागत गरेका छन् । ‘केकी अधिकारी काव्य चेतना भएकी अभिनेत्री हुन् । पोइट–आइडलको जज प्यानलमा उनको चयन मनासिब छ,’ एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘कविहरुले नै गरेको हाहा.. प्रतिक्रियामा कुनै शोभा छैन ।’

कवि नवीनप्यासी राई लेख्छन्, ‘अरू क्षेत्रका मान्छेहरू जज बनेर आउँदा झनै खुसी पो हुनुपर्ने हो । उनीहरूको माध्यमबाट कविताहरू झनै फैलिएर जान्छ । अनिलकेशरी शाह, महावीर पुन, सन्दुक रुइत, भगवान कोइरालाहरू पनि जज बनेर आए कति राम्रो हुन्थ्यो ! काव्यको रस लिन कविहरूले मात्रै जानेका हुन्छन् भन्नु कविहरूको अहम् मात्रै हो ।’

‘द पोएट आइडल’को अन्य जजहरुमा कवि तथा फिल्म निर्देशक उपेन्द्र सुब्बा, कवि विप्लव प्रतीक र फिल्म तथा नाटक अभिनेता अनुप बराल छन् । यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖