• Tuesday 6th of October 2026

७२ वर्षपछि साउदी अरबमा मदिरा किनबेच गर्न अनुमति, मदिरा पसल खोलिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वमा इस्लामको केन्द्र भनेर चिनिने साउदी अरबले गैर मुस्लिम आप्रवासीलाई मदिरा बेच्ने निर्णय गरेर सबैलाई चकित बनाएको छ । तर, राजधानी रियादमा खोलिएको यो मदिरा पसलमा विदेशी कूटनीतिक कर्मचारीले मात्र सामान किन्न पाउनेछन् ।

यो रक्सी पसल केहि दिनमा सुरु हुन सक्छ। मदिरा किन्नका लागि कूटनीतिज्ञहरूले पहिले दर्ता गर्नुपर्नेछ। उनीहरुलाई सरकारले स्वीकृति दिनेछ । २१ वर्ष मुनिका व्यक्तिले रक्सी पसलमा जान पाउने छैनन्। मदिरा जसको नाममा दर्ता भएको छ उसैले मात्र खरिद गर्नेछ ।

यससँगै मदिरा खरिदका लागि मासिक सीमा पनि तोकिएको छ, जसभन्दा बढी मदिरा किन्न पाइने छैन । अहिलेसम्म, साउदी अरबका कूटनीतिक कर्मचारीहरूले सिल गरिएको रक्सी प्याकेजहरू आयात गर्दै आएका छन्, जसलाई कूटनीतिक पाउच पनि भनिन्छ।

मदिरा बिक्रीका सम्बन्धमा सरकारी अधिकारीहरु यो पसलले अवैध मदिराको कारोबार रोक्न सफल हुने बताउँछन् । ७२ वर्षमा साउदीमा मदिराको बिक्री सुरु भएको यो पहिलो पटक हो ।

साउदी अरबमा सन् १९५२ देखि मदिरा प्रतिबन्धित छ । त्यतिबेला तत्कालीन राजा अब्दुल अजिजका छोराले रक्सीको नशामा रहेका बेलायती कूटनीतिज्ञको गोली हानी हत्या गरेका थिए । त्यसपछि सरकारले मदिरामा प्रतिबन्ध लगाएको थियो ।

रियादमा बस्ने केहीले साउदी अरबको पहिलो रक्सी पसललाई लिएर प्रतिक्रिया पनि दिएका छन् । धेरैले मोहम्मद बिन सलमानको यो निर्णयलाई सन् १९५२ पछि देशमा मदिरालाई वैधानिक बनाउने पहिलो कदमको रूपमा हेरिरहेका छन् । यसअघि पनि मोहम्मद बिन सलमानले सिनेमा हलदेखि लिएर देशको इस्लामिक पहिचान विपरीतका यस्ता धेरै निर्णय लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖