• Tuesday 6th of October 2026

अमेरिकी कंग्रेसमा डा ह्यारी भण्डारीको उम्मेदवारी घोषणा


  • धनकुटा खबर
  • .

वाशिंगटन डिसी । मेरिल्याण्ड राज्यमा नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीले अमेरिकी संघीय संसदको तल्लो सदन कंग्रेसमा डिष्ट्रिक २ बाट उम्मेदवारीको घोषणा गरेका छन्।

उनको उमेदवारीले सोमबारबाट औपचारिक रुपमा प्रवेशसमेत गरेको छ। भण्डारीले डेमोक्र्याट पार्टीका तर्फबाट आगामी मे १४ मा हुने प्रारम्भिक निर्वाचनका लागि चुनावी अभियान घोषणा गरेको बताए।

अमेरिकाको मूलधारको राजनीतिमा विगत एक दशकदेखि सक्रिय रहेका डा ह्यारी भण्डारीले आफ्नो राजनीतिक यात्रालाई संघीय इकाईतर्फ अगाडि बढाएका हुन्।।

कंग्रेसमेनको रुपमा उमेदवारी घोषणा गर्नुभएका भण्डारीले पार्टीको आन्तरिक प्रतिस्पर्धामा हुने उक्त निर्वाचनमा विजयी भएको खण्डमा आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीको तर्फबाट उमेदवार हुन पाउने छन्।

यसपटक मेरिल्याण्ड राज्यमा दुईजना कंग्रेसमेनले निर्वाचन नलड्ने घोषणा गरेकाले यसलाई खुला सिटको रुपमा लिइएको छ। ह्यारीले उमेदवारी दिन लागेको स्थान उनले डेलिगेटमा दुई पटक विजयी भइसक्नु भएको स्थानमा पर्दछ।

तसर्थ ह्यारी यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिसमेत हुनु भइसकेको छ । तर डेमोक्र्याट पार्टीभित्रका हस्तीसमेत निर्वाचनमा होमिएकाले ह्यारीले निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना भने गर्नुपर्ने छ।

त्यसको साथमा ह्यारीले निर्वाचनको दौरानमा के कति रकम सङ्कलन गर्न सक्नुहुनेछ भन्ने विषय पनि पेचिलो रहने छ। ‘टिचर फर कंग्रेसमेन’ भन्ने नारा तय गरिएको ह्यारीको चुनावी अभियान करिब एक सय दिनसम्म चल्नेछ।

नेपाली समुदायको आपत् विपत्मा सदैव अग्रपङ्क्तिमा रहेर समुदायको हितमा अहोरात्र खटिनुहुने ह्यारीले संक्षिप्त प्रतिक्रिया दिँदै भने,‘विगतमा जस्तै नेपाली अमेरिकनको सहयोग र सद्भाव प्राप्त गर्नेमा म विश्वस्त छु।’

ह्यारीले डेलिगेटका रुपमा नेपाली अमेरिकनका आप्रवासनसम्बन्धी विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। कोरोनाकालमा बेरोजगार फारम भर्नेदेखि कोरोना पीडितको उपचारमा समेत ह्यारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कोराना महामारीको बेलामा दिवङ्गत हुनुभएका नेपालीको शव व्यवस्थापनमा ह्यारी र उनको टोलीले भूमिका निर्वाह गरेको थियो।

ह्यारीले नेपालीहरुको सांस्कृतिक पहिचान दिलाउने उद्देश्यले ल्याउनु भएको दसैं बिल मेरिल्याण्ड जनरल एसेम्बलीले पारित गरेर गत अक्टोवर ५ तारिखलाई दसँै डे भनेर समेत मनाउन थालिएको छ।

नेपालको पर्वत जिल्लाको ग्रामीण परिवेशमा जन्मिएर अमेरिकाको मूलधारको राजनीतिमा आफूलाई खरो रुपमा उभ्याउनु भएका ह्यारीले समुदायको सेवा आफ्नो प्राथमिकतामा सदैव पर्ने बताउँदै आएका छन्। ।नेपाली मूलका व्यक्तिले अहिलेसम्म संघीय निर्वाचनमा जित हासिल गर्न सकेका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖