• Tuesday 6th of October 2026

म जिउँदै छु, मृत्युको भ्रम फैलाएकी हुँ :पुनम पाण्डे


  • धनकुटा खबर
  • .

भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेले आफू जिउँदै रहेको बताएकी छन्।

उनले इन्स्टाग्राममार्फत एक भिडिओ सन्देश राख्दै आफ्नो मृत्यु नभएको बताएकी हुन्।

त्यस्तै उनले आफैं आफ्नो मृत्युको भ्रम फैलाएको पनि बताएकी छन्।
शुक्रबार बिहान उनको इन्स्टाग्राममार्फत नै निधन भएको जानकारी दिइएको थियो। ३२ वर्षको उमेरमा उनको सर्भिकल क्यान्सरबाट निधन भएको जनाइएको थियो।

तर पूनमले सर्भिकल क्यान्सरबारे चेतना फैलाउन आफ्नो मृत्युको भ्रम फैलाएको बताएकी छन्।

उनले भिडिओमा भनेकी छन्, ‘म जिउँदै छु। मैले आफ्नो मृत्यु सर्भिकल क्यान्सरका कारण भएको भनेर भ्रम फैलाएँ। यो अति हो भन्ने मलाई थाहा छ। मैले धेरैको मन दुखाएकी छु भन्ने पनि मलाई थाहा छ, तर यो सबै चेतना जगाउने उद्देश्यले गरेकी हुँ। सर्भिकल क्यान्सरले मेरो प्राण लिएको छैन तर धेरै जनाले ज्यान गुमाएका छन्। यसबारे कसैले पनि ध्यान दिएका छैनन्। मैले मेरो मृत्यु यो रोगका कारण भएको भनेपछि अहिले सबै जना सर्भिकल क्यान्सरका बारेमा कुरा गरिरहेका छन्। मेरो मृत्युको खबरले सर्भिकल क्यान्सरबारे जे उपलब्धि हासिल गरेको छ, त्यसमा मलाई गर्व छ।’

पूनम यो व्यवहारबाट धेरै जना आक्रोशित हुँदै आलोचना गरेका छन्। चर्चा पाउनका निम्ति उनले यो हदसम्मको हर्कत गरेको भन्दै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूसम्मले उनले बेबकुफी गरेको भनेका छन्। त्यस्तै केहीले चर्चा र सचेतनाका नाममा मानिसहरूको संवेदनामाथि खेलबाड गरेको पनि भनेका छन्।

केहीले भने उनलाई सचेतनाका लागि यतिसम्मको हिम्मत गरेको भन्दै तारिफ पनि गरेका छन्।

शुक्रबार उनको इन्स्टाग्राममा उनको मृत्यु भएको जानकारी दिइएको थियो। भारतीय सञ्चारमाध्यमहरूले पनि उनकी बहिनी र म्यानेजरले उनको मृत्युको पुष्टि गरेको लेखेका थिए।

शनिबार भने पूनमले नयाँ भिडिओ हाल्दै आफू जिउँदो रहेको बताएकी हुन्।

पूनमले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले ‘मालिनी एन्ड को’, ‘आ गया हिरो’, ‘गलती सिर्फ तुम्हारी’, ‘द जर्नी अफ कर्मा’ लगायत फिल्ममा अभिनय गरेकी छन्।
उनी पछिल्लो समय कंगना रनावतले होस्ट गरेको रियालिटी शो ‘लकअप’ मा देखिएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖