• Tuesday 6th of October 2026

कृत्रिम सूर्य निर्माणको नजिक पुगे वैज्ञानिक, प्राप्त हुनेछ अनन्त स्वच्छ ऊर्जा


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वमा अहिले अनन्त ऊर्जाका श्रोतको खोज अनुसन्धानमा अर्बौँ डलर लगानी भैरहेको छ । अमेरिकादेखि चीनसम्मका वैज्ञानिकहरु अनन्त ऊर्जाका श्रोतका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् ।

यसबीच बेलायतको बहुचर्चित अक्सफोर्ड शहर नजिकै वैज्ञानिक तथा इन्जिनियरहरुले बिहीबार न्युक्लियर फ्यूजन ऊर्जाको रेकर्ड कायम गरेका छन् । यसलाई अनन्त स्वच्छ ऊर्जा हासिल गर्ने दिशामा एउटा महत्वपूर्ण कदम ठानिएको छ । यो प्रयोगका क्रममा १२ हजार घरका लागि बिजुली उत्पादन गर्नमा सफलता प्राप्त भएको छ ।

न्युक्लियर फ्युजन ठ्याक्कै त्यस्तै विधि हो जसबाट सूर्यले ताप र प्रकाश सिर्जना गर्दछ । वैज्ञानिकहरुले सूर्यमा भैरहेको त्यही प्रक्रियालाई प्रयोगशालामा अबलम्बन गरेर कृत्रिम सूर्य बनाउने प्रयास गरिरहेका छन् ।

सिएनएनको रिपोर्ट अनुसार ज्वाइन्ट युरोपियन टोरस (जेईटी) अर्थात् टोकाम्याक नामक एउटा ठूलो डुनोट आकारको उपकरणको प्रयोग गरेर वैज्ञानिकहरुले केवल ०.२ मिलिग्राम इन्धनबाट पाँच सेकेण्डका लागि ६९ मेगाजुल फ्युजनमा आधारित ऊर्जा उत्पादन गर्न सफल भए । उक्त ऊर्जाले करीब १२ हजार घरहरुमा समान समयका लागि बिजुली आपूर्ति गर्नु बराबर हो ।

न्युक्लियर फ्युजन ठ्याक्कै त्यही प्रक्रिया हो जसले सूर्य तथा अन्य ताराहरुलाई ऊर्जा दिन्छ । यसलाई स्वच्छ ऊर्जाको ठूलो श्रोत मानिन्छ । विश्वभरका वैज्ञानिकहरुले दशकौँदेखि पृथ्वीमै यो जटिल प्रक्रियालाई पूरा गर्ने प्रयासमा काम गरिरहेका छन् । यति बृहत परिमाणमा यो सम्भव भएमा परमाणु फ्युजनले निकै कम इन्धनबाट ठूलो मात्रामा ऊर्जा पैदा गर्न सक्दछ । साथै जलवायु परिवर्तनको कारक मानिएको कार्बन पनि उत्सर्जन हुँदैन ।

टोकाम्याक मेसिनमा तापमान १५ करोड डिग्री सेल्सियस
वैज्ञानिकले उक्त टोकाम्याक मेसिनमा हाइड्रोजनका दुईवटा स्वरुपहरु, ड्युटेरियम र ट्रिटियम हाले जसको प्रयोग भविष्यमा व्यवसायिक फ्युजन संयन्त्रहरुमा पनि गरिनेछ । फ्युजन ऊर्जा निर्माणका लागि वैज्ञानिकको टिमले मेसिनको तापमान १५ करोड डिग्री सेल्सियससम्म बढाए, जुन सूर्यको केन्द्रभन्दा करीब १० गुणा अधिक तापमान हो । यो चरम तापमानले ड्युटेरियम र ट्रिटियमलाई एकसाथ मिलेर हिलियम बनाउन बाध्य पार्दछ र यो प्रक्रियामा भारी मात्रामा ऊर्जा निस्किन्छ ।

टोकाम्याक मेसिनमा शक्तिशाली चुम्बकको प्रयोग गरिएको हुन्छ जसले प्लाज्मालाई थामेर राख्दछ । उक्त ऊर्जाको प्रयोग बिजुली उत्पादनका लागि गर्न सकिन्छ ।

टोकाम्याक मेसिनका लागि यो प्रयोग यस प्रकारको अन्तिम हो जसलाई पछिल्लो ४० वर्षदेखि प्रयोग गरिआइएको थियो । यो उक्त मेसिनको अन्तिम प्रयोग थियो, जसमा यसले नयाँ रेकर्ड कायम गरेको छ । यो नयाँ फ्युजन परियोजनाका लागि सुखद खबर पनि मानिएको छ ।

फ्रान्समा विश्वको सबैभन्दा ठूलो टोकाम्याक मेसिन निर्माण गरिँदैछ जसबाट ठूलो परिमाणमा ऊर्जा निकाल्न सकिन्छ । आणविक फ्युजनमा आधारित ऊर्जाले जलवायु संकटसँग लड्ने दिशामा क्रान्ति नै ल्याउन सक्दछ । तर यसलाई व्यवसायिक रुपमा प्रयोग गर्नका लागि कैयन् वर्ष लाग्न सक्दछ ।

तर म्यानचेस्टर विश्वविद्यालयका आणविक फ्युजन शोधकर्ता अनिका खानका अनुसार यो प्रविधिको पूर्ण प्रयोग हुने बेलासम्म जलवायु परिवर्तनको समस्या समाधानका लागि यसलाई मुख्य हतियारको रुपमा प्रयोग गर्न धेरै ढिला भैसकेको हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖