• Tuesday 6th of October 2026

अभिनेत्री छिरिङले थापिन् राष्ट्रपति पौडेलबाट गिनिज बुकको प्रमाणपत्र


  • धनकुटा खबर
  • .

काठमाडौँ । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा कोरियोग्राफीको रेकर्ड राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को प्रमाणपत्र लिएकी छन् ।

छिरिङ र जगदिश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाईमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफी डान्स अन ल्याण्ड (पेयर)’ को रेकर्ड राखेका थिए । राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई समेत दिए । छिरिङ सन् २०२४ को स्प्रिङ (अप्रिल–मे) मा सगरमाथासमेत आरोहण गर्न लागेकी छन् ।

‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’, छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’ राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा संघीय सांसद् एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा ५ का सदस्य धर्मथिङ लामा, नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरेलगायतको उपस्थिति थियो ।

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनुपरेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ’, उनले भनिन् ।

छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहणसम्बन्धी तालिम लिइसकेकी छन् । उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् । दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् ।

शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । फिल्म ‘तिन्छेन फामा’ ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुन् । सोलुखुम्बुकी छिरिङ हाल गोर्कणेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारमा बस्छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖