• Tuesday 6th of October 2026

एक लाख मागेकी अभिनेत्रीको हातमा ४१ हजार


  • धनकुटा खबर
  • .

अभिनेत्री निशा अधिकारीले उनका श्रीमान तथा क्रिकेटर शरद भेषावकरसँग माना चामल खर्च वापत मासिक ४१ हजार रुपैयाँ बुझ्दै आएकी छन् । २०७९ भदौ २८ गते काठमाडौँ जिल्ला अदालतमा शरदविरुद्ध अंश र माना चामल मुद्दा दायर गरेकी उनले शरदको दुई तिहाइ सम्पत्ति आफूले पाउनुपर्ने मागदावी गरेकी थिइन् । शरदको कुल सम्पत्तिलाई तीन भागमा बाँड्दा छोरो र आफ्नो भाग गरेर दुई तिहाइ आफ्नो हुनुपर्ने उनको भनाई छ ।

उनले भरणपोषण खर्च वापत छोरा र आफूलाई शरदले जनही ५० हजार रुपैयाँको दरले मासिक एक लाख रुपैयाँ दिनुपर्ने मागदावी मुद्दामा छ । तर गत मंसिर २८ गते जिल्ला अदालतले निशाले शरदको एक तिहाई सम्पति मात्र पाउने फैसला सुनायो । सोही आदेशबमोजिमको अंश प्राप्त नहुञ्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्ने फैसलामा उल्लेख छ ।

फैसलाबमोजिम नाबालिग छोराको भागमा पर्ने सम्पत्ति भने उमेर नपुगुञ्जेल निशा र शरदकै संरक्षणमा हुनेछ । त्यसो त, शरदले आफ्नोभन्दा निशाकै आम्दानी धेरै भएकाले माना चामल भराउनुपर्ने अवस्था नरहेको जिकीर लिएका थिए ।

अदालतले उनीहरुबीच अंशवण्डाको फैसला सुनाएपनि सम्बन्धविच्छेद भने भएको छैन । अंशबण्डापछि उनीहरु छुट्टाछुट्टै बसेपनि श्रीमान–श्रीमतीको नाता भने कायम रहिरहन्छ ।

माना चामलको मुद्दा र अदालतको फैसलालाई गुपचुप राख्न चाहेकी निशाको उक्त चाहना फैसला सार्वजनिकलगत्तै टुटेको छ । फैसला न्यायाधीश शिशिरराज ढकालको इजलासबाट भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖