• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्वान्टी–२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले टी–२० शृङ्खला खेल्ने भएको छ । यी तीन राष्ट्रबिचको टी–२० शृङ्खला आजदेखि सुरु हुनेछ ।

आज नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबिच तेस्रो खेल हुनेछ । मार्च १ तारिखमा नेपाल र नामिबियाबिच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ । छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबिच खेलिने छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ५ तारिखमा खेलिने क्यानले जनाएको छ ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको क्यानले जनाएको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा छनोट भएका छन् । त्यसैले आज देखि सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाले यी तीनवटै राष्ट्रलाई सहयोग पुग्नेछ ।

त्रिकोणात्मक शृङ्खलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖