• Tuesday 6th of October 2026

निशा र शरदको मुद्दामा डिभोर्स नगरी अंशबन्डा


  • धनकुटा खबर
  • .

काठमाडौँ–पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले निशाले अंश पाउने फैसला गरेको छ । नायिका निशाले जिल्ला अदालत, काठमाडौंमा अंशबन्डा र मानाचामल भराउने माग सहित २०७९ भदौमा मुद्दा हालेकी थिइन् । न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको हो। निशाले पतिसँग सम्बन्धविच्छेद नगरी छोरा युभान र आफ्नो अंशवापत शरदबाट तीन भागमा दुई भाग सम्पत्ति पाउनुपर्ने दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।

फैसलामा निशा र युभानले एक–एक भाग पाउने उल्लेख छ । फैसलाअनुसार युभान साबालक नभएसम्म उनको अंशको संरक्षक बुबाआमा दुवै हुनेछन् । छोरा युभान आफ्नो एकल संरक्षणमा हुनुपर्ने निशाको माग थियो । तर अदालतले युभान दुवैको संरक्षणमा हुने फैसला सुनाएको छ । विभिन्न समयमा अदालतले शरदका नाममा रहेको चलअचल सम्पत्ति रोक्का गरेको थियो ।

निशाले अंश नपाउन्जेलसम्म माना चामल वापत शरदले ४१ हजार छुट्याउनुपर्ने फैसलामा उल्लेख छ । निशाले माना चामल वापत एक लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेकी थिइन् । अदालत प्रशासनका अनुसार गत मंसिर २८ गते सो मुद्दाको फैसला भएको हो । मुद्दाको प्रमाणीकरण भने माघ १९ गते भएको पाइन्छ ।

निशाले दायर गरेको फिराद पत्रमा विवाह भएको केही समयपछि नै पतिसँग राम्रो सम्बन्ध नभएको उल्लेख छ । सोही समयदेखि शरद र निशा बेग्लै बस्दै आएका छन् ।

शरदले अदालतमा दिएको जानकारी अनुसार निशा २०७५ मंसीरदेखि आफूखुशी माइत बस्दै आएकी हुन्। छोराको स्कूलको मासिक खर्च १० हजार रुपैयाँ आफूले बेहोरिरहेको पनि शरदले खुलाएका छन्। २०७६ फागुनसम्म आफूले निशालाई साढे ११ लाख रुपैयाँ खर्च दिएको पनि अदालतमा शरदले बताएका छन्।

उनीहरू २०७४ असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। शरद नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी थिए भने निशा थुप्रै चलचित्रमा अभिनय गरेकी कलाकार हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूले सामाजिक परम्परा अनुसार विवाह गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖