• Tuesday 6th of October 2026

साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि एलिनाको आत्मालोचना


  • धनकुटा खबर
  • .

काठमाडौँ । माफी नमागेसम्म साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् । आफूले गरेको । घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले बताएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मञ्चिय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु। आगामी दिनहरूमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। ’

गत फागुन २० गते पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको व्यवसायीहरूको आरोप छ । गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म ६ वा साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका छन् ।

यस्तो छ उनको पोस्ट : जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यही कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकि मलाई त भुईँबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो।

तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरूले मलाई मञ्च उपलब्ध गराइरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्त्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु।

साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छायाकार, अडियो/ भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्‍याउने मूल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरूको सम्मान र स्वाभिमान प्रति सधैँ सचेत छु।

यति हुँदा हुँदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।

सो घटनामा तत्कालीन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु। आगामी दिनहरूमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖