• Tuesday 6th of October 2026

माउथ अल्सर हुनुका कारण के हुन्, कसरी गर्ने उपचार?


  • धनकुटा खबर
  • .

डा. रन्जित बराल
वरिष्ठ जनरल फिजिसियन तथा मुटुरोग विशेषज्ञ

माउथ अल्सर गिजा, ओठ, जिब्रो, मुख, गाला वा घाँटीका भित्री भागमा उब्जिने बिबिरा हो।

सुरूमा यो सानो र खासै असर नगर्ने तर छोटो समयमै विकसित हुँदै गएपछि बिरामीलाई खाना खाने वा बोल्ने क्रममा दुखाइ महसुस हुन्छ। पिरो, नुनिलो वा अमिलो खानेकुरा खाँदा झन् दुखाइ बढ्न सक्छ।
माउथ अल्सर एकैपटक एक वा धेरै संख्यामा हुन सक्छ। माउथ अल्सर विभिन्न प्रकारका हुन्छन्। तीमध्ये एक ‘एप्थस अल्सर’ (केङ्कर सोर) भनिने अल्सर सबभन्दा सामान्य माउथ अल्सर हो। यो हुनुको यकिन कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन तर शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा यसको सम्भावना बढी हुन्छ।
एप्थस अल्सर हुने मुख्यत: कारण शरीरलाई आवश्यक पर्ने भिटामिन बि-१२ जस्तो पौष्टिक तत्वको कमी हुन सक्छ। पौष्टिक तत्वको अभावका कारण एप्थस अल्सर भएको अवस्थामा सम्बन्धित चिकित्सकको परामर्शमा रगतको परीक्षण गर्नुपर्ने हुन्छ।

तनाव (इमोसनल स्ट्रेस) बढी भएमा पनि एप्थस अल्सर हुन सक्छ।
आनुवंशिक कारणले पनि एप्थस अल्सर हुन सक्छ। यद्यपि केही व्यक्तिलाई भने एप्थस अल्सर बिनाकारण समय समयमा हुन सक्छ। यसलाई ‘इडियोप्याथिक’ प्रकारको अल्सर भनिन्छ।
एप्थस अल्सर हुनुको कारणमा हर्पिस भाइरस-६ टाइपसँग पनि जोडेको पाइन्छ।

सामान्यत: कुनै पनि प्रकारको माउथ अल्सर १० देखि १४ दिनको अवधिमा बिना उपचार आफैं ठीक हुन्छ। तीन हप्ता (२१ दिन) पछि पनि ठीक नभएको अवस्थामा दन्त चिकित्सक, जनरल फिजिसियन वा सम्बन्धित चिकित्सकलाई देखाउन सकिन्छ।

उपचार गर्ने विधिमा लोकल एन्टिसेप्टिक एनेस्थेटिकका साथै माउथ-रिन्स र भिटामिन बि-१२ कम्प्लेक्सका पूरक (सप्लिमेन्ट) चक्की प्रयोग गर्न सकिन्छ। गम्भीर प्रकृतिको अल्सर हो भने ओरल (मुखबाट दिइने वा मुखमा प्रयोग हुने) एन्टिबायोटिक्स पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ।

रोकथाम
पौष्टिक तत्व भएको सन्तुलित भोजन खानुपर्छ। निद्रा र आराम पर्याप्त मात्रामा हुनुपर्छ। यसले माउथ अल्सर मात्र नभएर अन्य रोगहरू पनि रोकथाम गर्न ठूलो भूमिका खेल्छ।

एप्थस अल्सर र ‘स्टोमाटाइटिस’ जस्तो अर्को गम्भीर प्रकृतिको माउथ अल्सर फरक हुन् भनेर बुझ्नुपर्छ। स्टोमाटाइटिसमा मुख रातो भएर सुनिन्छ, जुन प्राय: सिस्टमिक रोग (सम्पूर्ण शरीरलाई प्रभावित गर्ने) को लक्षण हो।

माउथ अल्सर निश्चित अवधिमा निको नभएमा ‘इन्सिसनल बायोप्सी’ गर्न सकिन्छ, जहाँ शल्यक्रिया गरी संक्रमित भागलाई नमूनाको रूपमा परीक्षण गर्न र निदान गर्न झिकिन्छ।

(वरिष्ठ जनरल फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. रन्जित बराल काठमाडौंका बल्खुस्थित वयोधा अस्पताल र बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत छन्।)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖