• Tuesday 6th of October 2026

उपप्रधानमन्त्री लामिछानेले महाजात्रा हेरेपछि दिए यस्तो प्रतिक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ शृङ्खला आफूले हेरिसकेकाले तेस्रो शृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताए ।

‘मलाई यो शृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ’, गृहमन्त्री लामिछानेले भने ।

फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएकाले आफू आकर्षित भएको बताउदै उपप्रधानमन्त्री लामिछानेले राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए । ‘फिल्ममा मनोरञ्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरे । म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो । हाम्रो पुस्ताका नेता रहँदा पर्दामा भ्रष्टाचार गर्ने नेताको सायदै देखिएलान्’, उपप्रधानमन्त्री लामिछानेले भने ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्ममा दर्शकको चाप उच्च छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दर्शक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖