• Tuesday 6th of October 2026

महाजात्राले छ दिनमा कमायो छ करोड २४ लाख


  • धनकुटा खबर
  • .

काठमाडौँ – ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले छ दिनमा ६ करोड २४ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

निर्देशक प्रदीप भट्टराईले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो व्यापारबारे जानकारी दिएका हुन् ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका थिए ।

दर्शक प्रतिक्रिया लिइरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई दर्शकले रुचाउनु भएको बताए ।

‘हाम्रो फिल्मलाई देशमात्र नभई विदेशमा पनि दर्शकले उत्तिकै माया गर्नुभएको छ । फिल्म हेर्नेले यसलाई शृङ्खलाकै उत्कृष्ट भनेर प्रतिक्रिया दिनुभएको छ । किनकि यसपटक फिल्मलाई मनोरञ्जनमा मात्र सिमित नराखी राष्ट्रिय विषयलाई उठाएका छौँ । सोही कारण जात्राबाट यसपटक महाजात्रा भयो ।

दर्शकले दुवै पक्षलाई रुचाउनु भएको छ’, अभिनेता बानियाँले भने,‘दर्शकसँगै देशका कला प्रेमी नेताबाट माया पाउँदा हामी कृतज्ञ भएका छौँ । उपप्रधानमन्त्री ज्युले हाम्रो फिल्मलाई हलमै आम बनेर हेरेपछि दिनुभएको प्रतिक्रिया हाम्रो लागि ऊर्जाको विषय हो ।’

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖