नयाँ दिल्ली । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तमाथि लगातार दोस्रो खेलमा जरिवाना भएको छ । उनी कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटमा दोषी पाइएका हुन् ।
उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)ले बिहीबार यसबारे जानकारी दिएको हो । यसअघि चेन्नई सुपर किंग्सविरुद्धको पछिल्लो खेलमा पनि उनी स्लो ओभर रेटमा दोषी पाइएका थिए ।
सिजनको पहिलो गल्ती भएकाले उनलाई १५ लाख रुपैयाँ जरिवाना गरिएको थियो । पन्तका साथै दिल्लीको इम्प्याक्ट प्लेयरसहित सुरुवाती ११ को हिस्सा रहेका खेलाडीको म्याच फीको २५ प्रतिशत जरिवाना गरिएको छ ।
बुधबार विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । जवाफमा दिल्ली १७.२ ओभरमा १६६ रन बनाउँदै अलआउट भयो ।
