• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुरुका दुई बलमा लगातार विकेट गुमाएको युएईको विजयी सुरुवात, बहराइनमाथि ओमानको कठिन जित


  • धनकुटा खबर
  • .

काठमाडौं। ओमानमा सुरु एसीसी प्रिमियर कपमा घरेलु टोलीले विजयी सुरुवात गरेको छ। शुक्रवार भएको खेलमा ओमानले बहराइनमाथि ३ रनको कठिन जित हात पार्‍यो।

अर्को खेलमा युएईले कुवेतलाई ७ विकेटले हराएर सुखद सुरुवात गरेको छ। पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ७७ रन जोडेको थियो।

ओमानका अकिब इल्यासले ६२, कप्तान जिसन मकसुदले ४५ र कश्यप प्रजापतिले ३८ रन जोडे। बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रन बनाउन सक्यो।

बहराइनका इमरान अलीले ५०, हैदर बटले ४७ र अहमद बिन नासिरले अविजित ३८ रन बनाए। बहराइनलाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएका बेला २० औँ ओभरको पहिलो बलमै नासिरले चौका प्रहार गरेका थिए।

५ बलमा ७ रन मात्र आवश्यक रहेका बेला ओमानका बिलाल खानले कसिलो बलिङ गरे। अर्को खेलमा पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७८ रन जोडेको थियो।

कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक ५४ रन बनाए। सुरुका दुई बलमा लगातार विकेट गुमाएको युएईले १७।३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

ओपनर अलिसान सराफु एक्लैले ४८ बलमा ९० रन जोडे। यस्तै आसिफ खानले ४८ बलमा ७४ रन बनाए। उनीहरुबीच चौथो विकेटका लागि एक सय ५३ रनको साझेदारी भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖