• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएलको नयाँ नियम : खेलको भिडियो र तस्बिर सार्वजनिक गर्न नपाइने


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नेतृत्वदायी निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ नियम लागू गरेको छ ।

नयाँ नियम लागू भएपछि अब आईपीएलको खेल जारी रहँदा खेलाडी, कमेन्टेटर वा सम्बन्धित क्लबका पदाधिकारीहरूले खेलसँग सम्बन्धित कुनै पनि तस्बिर वा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न पाउने छैनन् ।

केही दिनअघि एक कमेन्टेटरले सामाजिक सञ्जालमा खेलको भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा ती कमेन्टेटरको १० लाखभन्दा बढी फलोअर रहेका थिए । उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्षणभरमै भाइरल बन्न पुगेको थियो ।

बीसीसीआईले भिडियो हटाउन पटक–पटक आग्रह गरे पनि ती कमेन्टेटरले आफ्नो पोष्ट डिलिट गर्न मानेका थिएनन् । बीसीसीआईले नयाँ नियम जारी गरेपछि भने ती कमेन्टेटरले आफ्नो पोस्ट डिलिट गरेका छन् ।

आईपीएलको प्रत्यक्ष प्रसारणको टेलिभिजन अधिकार स्टार इन्डियाले खरिद गरेको छ । लाइभ स्ट्रिमिङ डिजिटल अधिकार भने वायाकम १८ ले खरिद गरेको छ । यस्तो अधिकार खरिद गर्न उनीहरूले ठुलो धनराशि खर्च गरेका छन् । त्यसैले उनीहरूले पनि ती कमेन्टेटरको पोस्टप्रति आपत्ति जनाएका थिए ।

बीसीसीआईले नयाँ नियम लागू गरेपछि अब कुनै पनि सम्बद्ध पक्षले खेलको प्रत्यक्ष प्रसारणको तस्बिर वा भिडियो कुनै पनि माध्यमबाट सार्वजनिक गर्न पाउने छैन । नियम उल्लङ्घन गर्नेमाथि ठुलो जरिवाना लगाइने पनि बीसीसीआईले जनाएको छ ।

बीसीसीआईले आईपीएल टोलीमा सहभागी खेलाडीहरूलाई पनि यो नियमको बारेमा जानकारी गराइसकेको समाचारमा जनाइएको छ । यसअघि खेलाडीहरूले पनि सामाजिक सञ्जालमा खेलको तस्बिर र भिडियो पोस्ट गर्ने गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖