काठमाडौँ – ललितपुरको ढोलाहिटीमा चैत ११ गते होलीको दिन भएको घटनाको अनुसन्धान सकेर मुद्दा अदालत लगिएको छ। दुई समूहबीको बिबादमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीको धरानका २८ वर्षीय रेबश राईको हत्या भएको थियो।
हत्यामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरीले उक्त घटनामा ६ जनाविरुद्ध मुद्दा चलाउन राय दिए पनि सरकारी वकिल कार्यालयले शुसिल राईलाई भने मुद्दा नचलाउने निर्णय गरेको छ।
यो घटनामा मुख्य प्रतिवादी खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका विजय राईलाई बनाइएको छ। ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने होटल सञ्चालकसमेत रहेका ३१ वर्षीय विजयले नै दुवै युवालाई चक्कु प्रहार गरेको निष्कर्ष प्रहरीले निकालेको छ।
यस्तै सोही ठाउँका अर्का होटल सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण भुरचोक घर भई हाल ललितपुर–२६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर–११ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई र तेह्रथुम म्याङलुङ नगरपालिका ८ घर भई हाल ललितपुर महानगरपालिका १४ खुमलटार बस्ने ३२ वर्षीय राजु गुरुङलाई पनि प्रतिवादी बनाइएको छ।
विजयलाई आजिवन कैदको माग गरिएको छ। बयानका क्रममा विजयले आफूले रेवशको हत्या गर्नै चक्कू प्रहार गरेको तर आफ्नै साथी पुजनलाई भने झुक्किएर लागेको बताएका छन्।-मोटिभेट न्यूज
