• Saturday 17th of October 2026

अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते


  • धनकुटा खबर
  • .

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान करिब ११:१५ बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याएको थियो।

दुर्घटनामा परी जाजरकोटको नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र सोही स्थानका ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका क्रममा दुवै जनालाई शनिबार दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖