काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल यात्रा टुङ्ग्याउने घोषणा गरेका हुन् ।
बुटवलबाट सुरु भएको फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुर्याउन लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनैदेखि खेलेको बताएका छन् ।
‘बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो। मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
फुटबलप्रेमी तथा शुभचिन्तकबाट पाएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू भावुक भएको बताएका छन् ।
‘आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु’, उनले लेखेका छन् ।
विमलले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका उनले नौ गोल गरेका छन् ।
उनले आफ्नो खेलजीवनमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका उपाधि जितेका छन् । सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक र एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली टोलीका सदस्य उनी थिए ।
घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका विमलले नेदरल्यान्ड्समा युवा फुटबलसमेत खेलेका थिए ।
बुटवलबाट सुरु भएको उनको फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुगेको थियो । राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरेका विमलले अब सक्रिय खेलाडीका रूपमा आफ्नो यात्रा टुङ्ग्याएका छन् ।
