• Saturday 17th of October 2026

अज्ञात स्थलबाट जिबी राईकाे विज्ञप्ति, सहकारी ठगीमा रवि र छविलाई नजोड्न आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले अज्ञात स्थलबाट वक्तव्य जारी गर्दै आफूलाई पक्राउ गर्नु मात्र बचतकर्ताको रकम फिर्ता गर्ने समाधान नभएको बताएका छन्।

राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई सहकारीको रकम अपचलन प्रकरणमा जोड्नु उचित नभएको दाबी गरेका छन्। गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने उनको भनाइ छ।

‘गोर्खा मिडिया नेटवर्क मेरो हो, सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन। समाधानको जिम्मेवारी पनि मेरो हो,’ राईले वक्तव्यमा भनेका छन्।

ग्यालेक्सी टेलिभिजनलगायत केही कम्पनीमा सहकारीको रकम लगानी गरिएको स्वीकार गर्दै उनले ती कम्पनीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएका छन्। कोभिड–१९ महामारीपछिको आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा परेको प्रभावले ऋण असुली प्रभावित भएको उनको दाबी छ।

कम्पनीहरूको आर्थिक अवस्था बिग्रिएपछि केही व्यवसाय धराशायी भएको र बन्द गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन्। कर्मचारी वा अन्य व्यक्तिबाट अभिलेख राख्ने क्रममा नाम तथा कागजातको दुरुपयोग भएको हुन सक्ने भन्दै उनले अरूलाई अनावश्यक रूपमा प्रकरणमा जोड्न नहुने धारणा राखेका छन्।

राईले आफू कानुनी प्रक्रिया स्वीकार गर्न तयार रहेको पनि बताएका छन्। सरकारलाई सम्बोधन गर्दै उनले आफूलाई खोज्न शक्ति र संयन्त्र परिचालन गर्नुभन्दा बचतकर्ताको रकम फिर्ता गर्ने उपायमा केन्द्रित हुन आग्रह गरेका छन्।

उनका अनुसार साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूको सहयोगमा केही जग्गाजमिनको व्यवस्थापन गरिएको छ। आवश्यक परे ती सम्पत्ति वा अन्य विकल्प प्रयोग गरेर बचतकर्ताको रकम फिर्ता गर्ने र आफ्नो दायित्व पूरा गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

‘म जीवनभर लुकेर भागेर हिँड्न चाहन्नँ,’ भन्ने आशय व्यक्त गर्दै राईले सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन्। आर्थिक मुद्दामा फरार रहेका व्यक्तिलाई थुन्नेभन्दा समस्या समाधान गर्ने योजना ल्याए आफूजस्ता अन्य व्यक्ति पनि स्वदेश फर्किन इच्छुक हुने उनको दाबी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖