• Sunday 18th of October 2026

यसरी जले आगलागीबाट १३ घर


  • धनकुटा खबर
  • .

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका- २ मा आगलागी हुँदा १३ घर जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर जलेका वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् ।

अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको छ । आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

आगलागीबाट इस्मा गाउँपालिका- १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

आगलागी भएका ठाउँमा आगो निभाउन सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी खटिएका छन् । एकपटक निभाइसकेको ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖