• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आईपीएल इतिहासकै महँगा स्टार्कको बलिङ इकोनोमी ११.४८, कोलकत्ताको पौने २५ करोड भारु पानीमा !


  • धनकुटा खबर
  • .

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को गत दुबईमा भएको अक्सन अघि अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको औसत चर्चा थियो। उनी आईपीएलका महँगा खेलाडी बन्लान् भन्ने स्तरमा चर्चा भएको थिएन। त्यसका केही कारण थिए।

आईपीएलका अघिल्ला १५ संस्करणमा स्टार्कले जम्मा २७ खेल खेलेका थिए। उनले आईपीएल डेब्यु नै सन् २०१४ को संस्करणमा गरेका थिए। त्यस सिजन रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका उनले १४ विकेट लिए। लगत्तै अर्को वर्ष उनी बैंगलोरबाट खेल्दै २० विकेट लिन सफल भए। त्यसयता उनले आईपीएल खेलेका थिएनन्।

सन् २०१८ मा उनलाई कोलकत्ता नाइट राइडर्सले ९ करोड ४० लाख भारुमा त किन्यो तर चोटका कारण खेल्न सकेनन्। सन् २०२३ मा आयोजना भएको एकदिवसीय विश्वकप अस्ट्रेलियाले जिते पनि स्टार्कको प्रदर्शन धेरै चर्चा हुनुपर्ने स्तरको थिएन।

दुबईमा भएको अक्सनमा अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान पाट कुमिन्सलाई सनराइजर्स हैदराबादले साढे २० करोड भारुमा किनेपछि सोही मूल्य इतिहासकै सर्वाधिक महँगो बनेको थियो र यस पटक तोडिन कठिन मानिएको थियो। तर दुई घण्टा पनि टिकेन। स्टार्कलाई कोलकत्ताले २४.७५ करोड भारुमा खरिद गर्यो र यी अस्ट्रेलियन आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी बने।

स्टार्कमाथि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले दाउ लगाउन थालेका थिए । ९.४ करोड भारु पुगेपछि दिल्ली बाहिरियो। त्यसपछि ९.८ करोड भारु भन्दै प्रतिस्पर्धामा आएको थियो कोलकत्ता। त्यसपछि मुम्बईले हात झिक्यो भने गुजरातले कोलकत्तासँग प्रतिस्पर्धा गर्न थाल्यो। उनीहरुले कुमिन्सको कीर्तिमान तोडिएको पत्तै पाएनन्। कोलकाताले २४.७५ करोड भारु भनेपछि प्रतिस्पर्धीको बोली बन्द भयो। यसरी आईपीएलमा इतिहास बनाएका स्टार्कले जारी आईपीएलमा आफूमाथि लगाइएको मूल्यको न्याय गर्न सकिरहेका छैनन्।

जारी संस्करणमा स्टार्कले ७ खेलमा १ सय १४ बल फ्याँक्दै गर्दै जम्मा ६ विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ११.४८ रहेको छ। मुम्बई इन्डियन्सका जसप्रित बुमराह ८ खेलमा १३ विकेट लिएर जारी सिजन सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनको इकोनोमी ६.३७ रहेको छ ।

८ खेलमा १३ विकेट लिएका राजस्थान रोयल्सका ज्युभेन्द्र चाहलको इकोनोमी करिब ९ र पन्जाबका हर्सल पटेलको बलिङ इकोनोमी करिब साढे ९ छ।

स्टार्कको खराब लयबीच कोलकाताले नतिजा भने राम्रै निकालिरहेको छ। कोलकत्ता ७ खेलमा १० अंक जोडेर दोस्रोमा छ। ८ खेलबाट १४ अंक भएको राजस्थान रोयल्स शीर्षस्थानमा छ। सनराइजर्स हैदराबादको पनि ७ खेलमा १० अंक छ।

कोलकत्ताका लागि अलराउन्डर आन्द्रे रस्सेलले ७ खेलमा ९ विकेट, हर्सित रानाले ९, सुनिल नरिनले ९ र वरुण चक्रवर्तीले ७ र वैभव अरोराले ७ विकेट लिएका छन्। कोलकत्ताले रस्सेललाई १६ करोड भारु, नरिनलाई ६ करोड भारु, हर्सित रानालाई २० लाख भारु, बरुण चक्रवर्तीलाई १२ करोड भारु खर्चिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖