• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२० सिरिज खेल्न वेस्ट इन्डिजको टोली बुधबार काठमाडौं आइपुगेको छ।

नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने वेस्ट इन्डिज ‘ए’ टिममा अनुभवी खेलाडी समेटिएका छन्। वेस्ट इन्डिजले नेपालसँगको प्रतिस्पर्धाका लागि ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा टिम पठाएको हो।

कप्तान चेस वेस्ट इन्डिजका अनुभवी खेलाडी हुन्। उनले अहिलेसम्म ४९ टेस्ट खेलिसकेका छन्। ४५ एक दिवसीय खेल खेलेका उनले ११ वटा टी–२० प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। नेपाल भ्रमणमा कप्तान चेस सबैभन्दा अनुभवी खेलाडी हुन्। उपकप्तान एलिक एथानाजेसमेत अनुभवी खेलाडी हुन्।। उनले ४ टेस्ट र १० एकदिवसीय खेल खेलेका छन्। टोलीमा सन् २०१६ को विश्वकप खेलेका जोनसन चार्ल्ससमेत छन्।

आईसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपालले घरेलु मैदानमा दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिज प्रतिस्पर्धा गर्न लागेको हो। क्रिकेट इतिहासमै वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गरेको हो।

कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज खेल्नेछ। सिरिजको पहिलो खेल वैशाख १५ गते शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुनेछ। दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार हुनेछ। सिररिजका लागि नेपालले भने टोलीको घोषणा गरिसकेको छैन।

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कप्तान चेससहित एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोसुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स सहभागी छन्।

नेपाल आएका वेस्ट इन्डिजका खेलाडीमा जोनसन शीर्षक्रमका ब्याट्सम्यान हुन्। ओबेद, किमो, ओसान तीव्र गतिका बलर हुन् भने कप्तान चेस अलराउण्डर हुन्। वेस्ट इन्डिज ‘ए’ टिममा आईपिएल खेल्न नगएका र राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका अधिकांश खेलाडी समेटिएका छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज राखेपछि नेपाल क्रिकेट संघ (क्यान)को भने चर्को आलोचना भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖