इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली दिल्ली क्यापिटल्सले अस्ट्रेलियाका मिचेल मार्शको स्थानमा अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ ।
चोटका कारण मिचेल मार्श बाहिरिएकाले अफगानिस्तानका अलराउन्डर गुलबदिनलाई आईपीएलको बाँकी खेलका लागि अनुबन्ध गरेको दिल्लीले जनाएको छ । उनी ५० लाख भारुको आधार मूल्यमा दिल्लीमा सामेल भएका छन् । गुलबदिन आईपीएल खेल्नका लागि पहिलो पटक छनोट भएका हुन् । मार्श चार खेल खेलेपछि चोटका कारण आईपीएलबाट बाहिरिएका थिए ।
३२ वर्षीय मध्यम गतिका बलिङ अलराउन्डर गुलबदिनले ६२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ वटा शतकसहित ८ सयभन्दा धेरै रन बनाउँदा २६ विकेट लिएका छन् । उनले राष्ट्रिय टोलीको पनि नेतृत्व गरिसकेका छन् ।
आईपीएलमा दिल्ली क्यापिटल्स ९ खेलमा ४ जितसहित ८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।
